बैंकिङ खबर । आर्थिक वर्ष २०७५।७६को बजेटले बैंकिङ पहुँच वृद्धिमा ठूलो योगदान पुर्याउने बैंकर्स संघले जनाएको छ । बजेटमा समावेश गरिएका बैंकिङ पहुँच वृद्धि गरिने, सबै नेपालीको बैंक खाता अभियान संचालन गरिने लगायतका बुँदाहरुले बैंकिङ पहुँच विस्तारमा मद्दत पुग्ने संघको ठहर छ । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बजेटमा भएका व्यवस्थाहरु समग्रमा सकारात्मक रहेको र बैंकिङ क्षेत्रको विकासका लागि राम्रो व्यवस्थाहरु गरिएको बताए ।
वित्तीय क्षेत्रका लागि बजेट सकारात्मक छ
ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, अध्यक्ष, नेपाल बैंकर्स संघ
बजेट समग्रमा सकरात्मक तथा सन्तोषजनक छ । सार्वजनिक भएको बजेटमा एक बर्षभित्र सबै नेपालीको खाता खोल्ने अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । यसले बैंकहरुमा निक्षेप संकलन बढनुका साथै बैंक पहुँच विस्तारमा समेत योगदान पुर्याउनेछ । त्यस्तै, एक अर्ब वा सोभन्दा बढी पुँजीमा स्थापित सबै कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पुँजी बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था बजेटमा गरिएको छ । यो व्यवस्थाले रियल सेक्टरमा लगानी बढाउन मद्दत गर्छ । यसबाहेक, व्याज अनुदानको कुरा पनि स्वागतयोग्य रहेको छ । गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र ग्रामीण स्वाबलम्बन कोषहरुबाट सञ्चालित ऋण र अनुदानका कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गरिने कुरा पनि बजेटमा उल्लेख गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अन्य कोषहरुको प्रभावकारी नियमनका लागि छुट्टै निकायको व्यवस्था समेत गरिने भएको छ । समग्रमा हेर्दा, यसपालीको बजेट वित्तीय क्षेत्रका लागि सकारात्मक नै रहेको छ ।