बैंकिङ खबर । कृषि विकास बैंकले ७७ वटै जिल्लामा शाखा संचालन गरी बैंकिङ पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । हाल कृषि विकास बैंकको कुल शाखा संख्या २५६ रहेको छ । थप शाखा विस्तारमा पनि बैंकले पहल गरिरहेको छ । थप शाखाहरु विस्तार गर्नका लागि बैंकले क्षेत्रीय कार्यलयहरुसँग छलफल गरिरहेको छ ।
सबै जिल्लामा शाखा पुर्यासकेको बैंकले अब राष्ट्र बैंकको निर्देशनअनुरुप सबै स्थानीय तहमा शाखा पुर्याउने योजनालाई पनि साथ दिइरहेको छ । असार मसान्तभित्रमा नै तोकिएको स्थानीय तहमा शाखा स्थापना गरि संचालनमा ल्याउने गृहकार्य बैंकले थालिसकेको छ । तोकिएकामध्ये, केही स्थानीय तहमा बैंकले शाखा पुर्याइ सकेको छ भने केहीमा शाखा स्थापनाको प्रक्रिया दु्रत गतिमा अगाडि बढिरहेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकको एक स्थानीय तह एक बैंक भन्ने सिद्धान्तलाई लिएर कृषि विकास बैंकले हालसम्म पाँच वटा शाखा कार्यालयहरु विस्तार गरिसकेको छ । बैंकले स्थापना गरिसकेका शाखाहरुमा गुल्मीको मदानी, खाटाङको चिसपानी, तेह्रथुमको चिवानडाँडा, सुनसरीको लैकी र सुनसरीको चिमडी शाखा रहेका छन् ।
छ वटा प्रदेशमा क्षेत्रीय कार्यालय
कृषि विकास बैंकले छ वटा प्रदेशमा १० वटा क्षेत्रीय काार्यलयमार्फत सेवा दिइरहेको छ । प्रदेश नं. ६ बाहेक सबै प्रदेशमा कृषि विकास बैंकका क्षेत्रीय कार्यालय संचालनमा छन् । प्रदेश नं १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर र विरगञ्ज, प्रदेश नं ३ को काठमाडौँ, प्रदेश नंं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, नेपालगञ्ज र दाङ तथा प्रदेश नं ७ को कैलालीमा कृषि विकास बैंकका क्षेत्रीय कार्यालय छन् ।