May 15th, 2018

नौ महिनामा ब्यापार घाटा ८ सय १५ अर्ब पुग्यो

चालु आर्थिक वर्षको नौं महिनामा आठ खर्ब ७४ अर्ब मूल्यबराबरको उपभोग्य बस्तु नेपालमा आयात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीइसी) ले नौं महिनाको आयात निर्यातसम्बन्धी समीक्षा अवधिको प्रतिवेदन शुक्रवार सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 

टीईपीइसीका अनुसार नौं महिना (गत साउनदेखि चैत) को अवधिमा कुल व्यापार नौं सय ३४ अर्ब ५० करोडको भएको छ । अघिल्लो वर्ष यही अवधिमा सात सय ८२ अर्ब १३ करोडको कूल व्यापार भएको थियो । यो वर्ष आठ सय १५ अर्ब २६ करोड बराबरको व्यापार घाटा भएको छ । अघिल्लो वर्ष ६ सय ७१ अर्ब १३ करोड मूल्यबराबरको व्यापार घाटा भएको थियो । नौं महिनाको समीक्षा अवधिमा यो वर्ष आयात र निर्यातको अनुपात १.१४ भएको छ । 

आयात ९३ प्रतिशतले बढ्यो

भारतलगायत तेस्रो मुलुकबाट गत वर्षको यही अवधिको तुलनामा यो वर्ष ९३.६ प्रतिशतले कूल आयात दर वृद्धि भएको छ । प्रतिवेदन अनुसार नौं महिनाको अवधिमा यो वर्ष ८ खर्ब ७४ अर्ब ८८ करोड मूल्यबराबरको विभिन्न प्रकारका बस्तु नेपालमा आयात भएको हो । गत वर्ष यही अवधिमा सात खर्ब २६ अर्ब ६३ करोड मूल्यबराबरको बस्तु आयात भएको थियो । 

सबैभन्दा धेरै पेट्रोलियम

नौं महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको यही अवधिको तुलनामा ३४.४ प्रतिशतले बढी परिमाणमा पेट्रोलियम पदार्थ आयात भएको हो । 

यो अवधिमा एक खर्ब १७ अर्ब २९ करोड ३४ लाख मूल्यबराबरको आयात भएको छ । गत वर्ष यही अवधिमा ७ अर्ब ३ करोड ९२ लाख मूल्यबराबरको हाराहारीमा पेट्रोलियम पदार्थ आयात गरिएको थियो । 

यो वर्ष इन्धनको खपत उच्च परिमाणमा वृद्धि भएको हो । त्यसै गरी सीमा क्षेत्रबाट अवैधरुपमा भारतीय क्षेत्रमा समेत चोरी निकासी हुँदा इन्धनको आयात दर वृद्धि भएको हो । भारतभन्दा नेपालमा इन्धन सस्तो छ ।

आइरन र स्टिल पनि 

अत्यधिक परिमाणमा आयात हुने सूचीमा दोस्रो नम्बरमा आइरन, स्टिल र यसको कच्चा पदार्थ परेको छ । अघिल्लो वर्षको नौं महिनाको अवधिमा २६.४ प्रतिशतले वृद्धि भएर यो वर्ष ९७ अर्ब २१ करोड २७ लाख मूल्यबराबरको आइरन तथा स्टीलजन्य उत्पादन नेपालमा आयात भएको छ । 

तेस्रो नम्बरमा मेसिनरी र उपकरण परेको छ । ५४.२ प्रतिशतले वृद्धि भएर ९४ अर्ब १८ करोड रुपैयाँको मेसिनरी र उपकरण आयात भएको छ । चौथो नम्बरमा १.५ प्रतिशतले आयात दर कम भएर ६२ अर्ब ३४ करोड १९ लाख रुपैयाँको यातायातका सवारी साधन र पार्टसहरु आयात भएको छ ।

खाद्यान्न आयात उस्तै 

यसपछि कृषि मुलुक भन्दै नेताहरूको भाषण गरिरहँदा नेपालमा खाद्यान्नको आयात पनि बढेको छ । अघिल्लो वर्ष नौं महिनाको तुलनामा यो वर्षको नौ महिनामा ११ प्रतिशतले वृद्धि भएर ३२ अर्ब ६६ करोड ७२ लाख मूल्यबराबरको खाद्यान्न नेपालमा आयात गरिएको छ । 

अघिल्लो वर्ष यही अवधिमा २९ अर्ब ४३ करोड ९७ लाख रुपैयाँको खाद्यान्न नेपालमा भित्रिएको थियो । चालु वर्षको नौं महिनाकै अवधिमा अघिल्लो वर्षको नौं महिनाको अवधिमा १६.३ प्रतिशतले आयात दर वृद्धि भएर ११ अर्ब ५१ करोड ८९ लाख मूल्यबराबरको सोयाविनको कच्चा तेल पनि आयात भएको छ । 

यो वर्षको नौ महिनाकै अवधिमा अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले आयात दर घटेर तीन अर्ब ४६ करोड ८० लाख मूल्यको कच्चा पाम आयले पनि आयात भएको छ । यसपछि आयात हुनेमा क्रमशः विद्युतीय सामाग्री, दूरसञ्चारसम्बन्धी सामाग्री, सुन, औषधी, सिमेन्टको क्लिन्कर, पोल्थिन, चाँदी, केमिकल, रबरलगायतका सामाग्री पनि आयात भएको छ ।

चालु वर्षको नौ महिनाको समीक्षा अवधिको प्रतिवेदनअनुसार आयात निर्यातको मुख्य मुलुक भारत नै देखिएको छ । यो वर्ष भारतसँग निर्याततर्फ ३४ अर्ब १७ करोडको कारोबार भएको छ । यस्तै आयाततर्फ यही अवधिमा भारतसँग पाँचसय ७६ अर्ब सात करोड मूल्यबराबरको कारोबार भएको छ ।  

६०  अर्बको निर्यात

यसै गरी निर्याततर्फ नौं महिनाको अवधिमा गत वर्षको यही अवधिको तुलनामा ६.४ प्रतिशतले कूल निर्यात दर वृद्धि भएर ५९ अर्ब ६२ करोड मूल्यबराबरको नेपाली बस्तु भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको छ । प्रतिवेदनअनुसार गत वर्ष यही अवधिमा ५५ अर्ब ५० करोड मूल्यबराबरको नेपाली बस्तु निर्यात भएको थियो । 

निर्याततर्फ उनको कारपेट सबैभन्दा बढी भएको तथ्याङ्कले देखाएपनि अघिल्लो वर्षको समीक्षा अवधीमो तुलनामा निर्यात दरमा १० प्रतिशतले गिरावट आएको छ । यो वर्ष पाँच अर्बको उनको कारपेट निर्यात भएको छ । 

गत वर्षको समीक्षा अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएर ७३ करोड २० लाख मूल्यको दाल निर्यात भएको छ । यसै गरी २५.८ प्रतिशतले वृद्धि भएर तीन अर्ब ८७ करोड ९९ लाख मूल्यको अलैंची निर्यात भएको छ । 

यस्तै २५.१ प्रतिशतले वृद्धि भएर दुई अर्ब ३५ करोड ११ लाख मूल्यको चिया, अघिल्लो वर्षको नौं महिनाको अवधिमा १६९ प्रतिशतले वृद्धि भएर ५१ करोड ६७ लाखको अदुवा निर्यात भएको छ । 

नेपालबाट अघिल्लो नौं महिनाको तुलनामा निर्यात दर वृद्धि भएर जुटको ब्याग, रेडिमेड गारमेन्टस्, हाड तथा छाला, सुगन्धित तेल, टुथपेस्टलगायतका बस्तु भारतसहित तेस्रो मुलुकमा निर्यात भएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]