Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेयर बजारमा यथेष्ठ सूचनाको आवश्यकता

२०७५ बैशाख २५ गते

रुपा कोइराला । पुँजी बजार वित्तीय क्षेत्रको एक महत्वपूर्ण अंग हो । विश्वका कुनै पनि मुलुकको विकासका लागि पुँजी बजारको उपयोग हुने गर्दछ । मुलुकमा विकास निर्माणका लागि स्रोत जुटाउन पुँजी बजारको ठूलो योगदान रहन्छ । पुँजी बजारले सानादेखि ठूलो अनुपातमा मुलुकभर छरिएर रहेको पुँजी एकत्रित गरि कुनै निश्चित परियोजनामा लगानी गर्दछ । यस हिसाबले हेर्दा, पुँजी बजारले छरिएर रहेका पुँजीहरु र उक्त पुँजीको आवश्यकता भएका विकास निर्माणका काम तथा परियोजनाहरु बीचको पुलको काम गर्दछ ।

सेयर बजारमा पुँजी परिचालन दुई किसिमले हुन्छ : प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारअन्तर्गत सार्वजनिक निष्काशन अर्थात आईपिओ र एफपिओमार्फत पुँजी परिचालन हुन्छ । यसमा लगानीकर्ताले लगानी गर्छ र व्यवसायीले पुँजी संकलन गर्छ । त्यस्तै, दोस्रो बजारमार्फत लगानीकर्ताले गरेको लगानी आफूले चाहेको खण्डमा झिकेर लैजान मिल्ने गरी पुँजी परिचालन हुन्छ । 

विश्वमा सेयर बजारमा लगानी गरेर सफल बनेका उदाहरणहरु धेरै छन् । कुनै पनि कम्पनीमा बुझेर मात्रै लगानी गर्नेहरुले राम्रो नाफा कमाएका छन् भने जानकारीबिना नै सेयर बजारमा छिर्नेहरु पछुताएका उदाहरणहरु पनि छन् । नेपालको सेयर बजारमा बुझेर लगानी गर्ने लगानीकर्ताको कमी छ । सेयर बजारमा राम्रोसँग बुझेर र विश्लेषण गरेर लगानी गर्नेको संख्या अन्यन्तै न्युन रहेको छ । कसैले सेयर बजारमा लगानी गर्दा फाइदा हुन्छ रे भन्दिएको भरमा आँखा चिम्लेर जुन पायो त्यही कम्पनीमा लगानी गर्दा नोक्सानी भोग्नु परिरहेको छ । 

हुन त सेयर बजारलाई जोखिमयुक्त क्षेत्र नै भनिन्छ । तर, पुँजी बजारमा लगानी कसरी गर्ने ? कस्तो कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ? लगानीका लागि राम्रो कम्पनीको छनौट कसरी गर्ने ? कस्तो अवस्थामा सेयर किन्ने र कस्तो अवस्थामा बेच्ने ? सेयर बजारसँग सम्बन्धित कम्पनीहरु कुनकुन हुन् ? सेयर बजारको संचालन कसरी भइरहेको छ ? सेयर बजारको नियमन कसरी भइरहेको छ ? सेयर बजारलाई प्रभाव पार्ने तत्वहरु केके हुन् ? लगायतका विषयमा जानकारी लिएर मात्रै सेयर बजारमा प्रवेश गर्दा जोखिम कम हुन्छ ।

सेयर विश्लेषक एवम् विज्ञहरुले यस विषयमा जानकारी गराउँदै आएका छन् । यद्यपि, यी सबै कुराको जानकारी कसरी र कहाँबाट लिने भन्ने कुराको जानकारी नै सर्वसाधारणमा छैन । यी सबै कुराको जानकारी दिने उद्देश्यले क्यापिटल मार्केट एक्स्पो २०७५को आयोजना हुँदैछ ।

नेपालको पुँजी बजार विस्तारै विकसित भइरहेको छ । सार्वजनिक निष्काशनमा नयाँ नयाँ प्रयोगहरु भएका छन् । पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा अनलाइन आस्वा प्रणाली लागू गरेर मुलुकको जुनसुकै ठाउँबाट पनि लगानी गर्न सक्ने अवस्थाको विकास गरेको छ । यद्यपि, बैंक खाता खोल्नेको संख्यामा नै वृद्धि गर्न नसकिरहेको अवस्थामा आस्वा प्रणालीको बारेमा सर्वसाधारणलाई बुझाएर सेयर लगानीतर्फ आकर्षित गर्नु चुनौतिपूर्ण देखिएको छ । 

नेपालको झन्डै आधा जनसंख्यामा वित्तीय पहुँच पुगेको छ भने मुस्किलले २० प्रतिशत नेपाली जनता वित्तीय रुपमा साक्षर छन् । अझैसम्म पनि सर्वसाधारणलाई बैंकमा खाता खोल्नुपर्छ भनेर चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ । यस्तो अवस्थामा सेयरको बारेमा बुझाएर सेयर प्रविधिका बारेमा समेत प्रकाश पार्ने काम कम चुनौतीपूर्ण छैन । यद्यपि, सेयरसम्बन्धि चेतना अभिवृद्धिका लागि धितोपत्र बोर्डले एउटा प्रयास थालेको छ ।  

पुँजी बजारको विकाससँगसँगै पुँजी बजारबारे सचेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ । यही आवश्यकतालाई ध्यानमा राखेर राजधानीमा क्यापिटल मार्केट एक्स्पो हुँदैछ । साँच्चै नै सेयरमा लगानी गरेर सफल बन्न चाहनेहरुका लागि यो एक्स्पोले निकै मद्दत पुर्याउनेछ । सेयर बजारसम्बन्धित आफूले जान्न चाहेका सबै कुराहरुको जानकारी पाउने यो एक ऐतिहासिक अवसर हो ।