May 16th, 2016

लघुवित्तबारे प्रम केपी ओलीको विश्लेषण

kp oliलघुवित्त संस्थाहरुले मुुलुकको ग्रामीण अर्थतन्त्रमा पुर्याएको योगदान सराहनीय छ । खासगरी तल्लो र विपन्न वर्गको जीवनस्तर उकास्न अन्य बैंकहरुको तुलनामा लघुवित्त बैंकहरुले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका कृषक तथा साना पुँजी भएका व्यवसायीहरुलाई आत्मनिर्भर बनाउनको लागि उत्पादनमुखी र कृषकमुखी कार्यक्रमहरुमार्फत प्रभावकारी रुपले अगाडी बढिरहेको क्षेत्रको रुपमा बुझेको छु, मैले लघुवित्त क्षेत्रलाई । तर पनि अहिले निर्यातभन्दा आयात कहाँ हो कहाँ बढी छ । हामी उत्पादनमुखीभन्दा उपभोगमुखी हुन बाध्य छौँ । यो राम्रो होइन । अब हामी आफ्नो लागि आफ्नै भूमिमा उत्पादन गर्छौैँ । 

हालै सरकारले ल्याएको नीति तथा कार्यक्रममा मैले कृषि क्षेत्रको विकासका केही नयाँ र अत्यावश्यक कार्यक्रम समावेश गरेको छु । अहिले हामी आफ्नो मुलुकलाई कृषि प्रधान भन्छौँ । तर खानेकुराहरु किनेर खानुपरेको छ । कुल जनसंख्याको ७५ प्रतिशतभन्दा बढी हिस्सा कृषिमा निर्भर छ । तर पनि हामीलाई खानको लागि किन्नैपर्ने बाध्यता छ । अब यस्ता समस्याबाट मुक्त हुने बेला हो । अबको केही वर्षभित्र हाम्रो देशलाई कृषि प्रधान मुलुक भन्न लायक मुलक बनाइने छ । 

उखान
‘आफ्नो पीठ्युमा जस्को डोको, त्यसलाई खानको छैन कुनै धोको’ भने जस्तै हामीलाई खानको लागि कुनै धोको नहुनुपर्ने हो । तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन । हामीसंग स्रोतहरु थुप्रै छन् । हामीसंग राम्रो माटो छ, पानी छ, जनशक्ति छ । तर पनि कृषिमा हामी परनिर्भर नै बन्नुपरेको छ । यो अवस्थाको अन्त्य गर्न अब तपाई हामी मिलेर सहयात्रा गर्नुपर्छ । नेपालको गरिबी न्युनिकरणमा लघुवित्त संस्थाहरुले खेलेको भूमिका पनि सराहनीय छ । त्यस्तै बेरोजगारी न्युनिकरणमा पनि राम्रो योगदान गरेको छ । एउटा कुरा भन्न मन लागिहाल्यो, यहाँ पैसा भएकाहरु र पढेलेखेकाहरु आफुलाई बेरोजगार भन्छन् । तर त्यो ग्रामीण भेगको गरिब किसानको छोरो न पढ्नै राम्रोसंग पाएको हुन्छ न ऊसंग पर्याप्त पैसा नै हुन्छ । तर पनि ऊ मेहनत गरिरहेको हुन्छ । काम गरिरहेको हुन्छ । उसले उत्पादनमूलक क्षेत्रमा योगदान गरिरहेको हुन्छ । 

म पनि गरिबकै छोरो हुँ
म आफैँ पनि गरिबको छोरो हुँ । म पनि गाउँमै जन्मेको हुँ । तपाईहरुमध्ये कतिले दुःखपूर्ण बाल्यकाल पनि गुजार्नुभएको होला । म पनि त्यस्तै अवस्था गुजारेर यहाँसम्म आएको हुँ । मलाई थाहा छ, ग्रामिण भेगको समस्या, ती गरिब जनताको समस्या । ती सब कुराको सम्बोधन सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रममार्फत सम्बोधन हुने छ । र अर्को कुरा लघुवित्त संस्थाहरुले गरिबी उन्मुलनसम्बन्धी कार्यक्रम चलाउनुस् सरकारले कहाँ कति कसरी सहयोग गर्नुपर्छ त्यसको लागि सरकार तयार छ । 

र अन्त्यमा 
मलाई यो महत्वपूर्ण कार्यक्रममा बोलाउनुभयो । आयोजक साथीहरुलाई धन्यवाद दिन चाहान्छु । तपाईहरुलाई म अहिलेको जस्तै उत्साहीत भएर काम गर्न आग्रह गर्छु । सरकारले गर्नुपर्ने सहयोग र सहकार्यका लागि सरकार सँधै तयार छ । (राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ को उद्घाटन कार्यक्रममा प्रम केपी शर्मा ओलीद्धारा दिइएको मन्तव्यमा आधारित) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]