Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक’ घोषित

२०८३ कार्तिक १० गते

बैंकिङ खबर / ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गर्ने सफलता हासिल गरेको छ । ग्लोबल फाइनान्सले सन् २०२४ र २०२५ मा पनि ग्लोबल आइएमई बैंकलाई नेपालकै उत्कृष्ट बैंकका रूपमा सम्मानित गरेको थियो । सन् २०२६ को अवार्ड प्राप्त गरेसँगै बैंकले लगातार तीन वर्ष उक्त अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको हो ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए । उक्त समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थाहरूलाई समेत विभिन्न विधामा सम्मान गरिएको थियो । ग्लोबल फाइनान्सका अनुसार बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनका प्रमुख आधार बनाइएको थियो । यी पक्षमा बैंकले देखाएको कार्यसम्पादनका आधारमा अवार्ड प्रदान गरिएको जनाइएको छ ।

अवार्ड वितरण समारोहमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आईसीबीसी), मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय बैंकहरू पनि विभिन्न विधामा सम्मानित भएका थिए ।

अन्तर्राष्ट्रिय सम्मानमा नेपालको प्रतिनिधित्व

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ । बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा नेपालको प्रतिनिधित्व थप बलियो बनाएको छ । ग्लोबल फाइनान्सले विश्वभरका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूको कार्यसम्पादन मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

बैंकले आधुनिक प्रविधिको प्रयोग, डिजिटल बैंकिङ सेवाको विस्तार र ग्राहक सेवामा सुधारलाई आफ्नो व्यावसायिक प्राथमिकताका रूपमा अघि बढाउँदै आएको जनाएको छ । पछिल्ला वर्षहरूमा बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेष्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ । यसका अतिरिक्त बैंकले सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सिलेन्स तथा सन् २०२४ मा ‘बेष्ट बैंक ईएसजी नेपाल’ सम्मानसमेत प्राप्त गरेको छ । बैंकले रोजगारदाता संस्थाका रूपमा पनि विभिन्न सम्मान हासिल गरेको जनाएको छ ।

देशभर एक हजारभन्दा बढी सेवा केन्द्र

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन् । यसबाहेक विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

देशव्यापी सेवा सञ्जालका कारण बैंकले सहरी क्षेत्रसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकलाई समेत बैंकिङ सेवामा पहुँच पुर्‍याउँदै आएको जनाएको छ । शाखा तथा डिजिटल माध्यमबाट प्रदान गरिने सेवाको विस्तारले ग्राहकलाई वित्तीय कारोबार गर्न सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीमा आबद्धता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । रेमिट्यान्स सेवामार्फत विदेशमा रहेका नेपालीले पठाएको रकम स्वदेशमा प्राप्त गर्न सहज बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ ।

लगातार तेस्रो वर्ष प्राप्त अन्तर्राष्ट्रिय सम्मानका लागि बैंकले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ । बैंकले यस सम्मानलाई आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रोत्साहनका रूपमा लिएको जनाएको छ ।

Ad