बैंकिङ खबर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । असार ३ गतेसम्म विक्री खुला यस हकप्रद सेयरमा वैशाख ४ गतेसम्म सेयर स्वामित्व कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडसँगै नेपाल धितोपत्र बोर्डबाट सि—आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै, सूर्या लाइफ इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन पेश गर्न सकिनेछ ।
हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर निष्काषन गरेपछि इन्स्योरेन्सको चुक्तपुँजी एक अर्ब एक करोड छ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।


