Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

यस्ता छन्, यो साताका टप ११ बैंकिङ खबरहरु

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । गौमुल गाउँपालिकाले लघुवित्तहरुलाई कारोबार बन्द गर्न निर्देशन दिएको विषय नसेलाउँदै मगरात स्वायत्त प्रदेश जिल्ला जन परिषद् सल्यानले स्थानीय स्तरमा रहेका विभिन्न लघुवित्त संस्थाहरुलाई कारोबार बन्द गरी जिल्ला छोड्ने आदेश दिएको खबरले यो साता लघुवित्त क्षेत्रमा हलचल ल्यायो । यसै साता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी नियममा संशोधन गर्यो । यसबाहेक पनि थुप्रै बैंकिङ गतिविधिहरु यो साता भए :

बैंक संचालकको योग्यता निर्धारण
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी नियममा संशोधन गर्यो । बैंक तथा वित्तीय संस्था ऐन २०७३मा भएको कानुनी प्रावधान अनुरुप बैंक तथा वित्तीय संस्थाको संचालक, स्वतन्त्र संचालक तथा कार्यकारी प्रमुखको पदमा नियुक्त हुने व्यक्तिको योग्यता तथा कार्यअनुभव तोक्ने प्रयोजनका लागि ‘बैंक तथा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४’ लागू गरेको राष्ट्र बैंकले जनाएको छ । सोही विनियमावलीमा गरिएको व्यवस्थालाई लागू गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

गाउँ छोड्न लघुवित्तलाई निर्देशन
गौमुल गाउँपालिकाले लघुवित्तहरुलाई कारोबार बन्द गर्न निर्देशन दिएको विषय नसेलाउँदै मगरात स्वायत्त प्रदेश जिल्ला जन परिषद् सल्यानले स्थानीय स्तरमा रहेका विभिन्न लघुवित्त संस्थाहरुलाई कारोबार बन्द गरी जिल्ला छोड्ने आदेश दियो । लघुवित्तहरुले जनताको आयस्तर उकास्ने नाममा विनाधितो भन्दै पनि चर्को व्याजमा कर्जा प्रवाह गरेको र यसले जनताको जीवनस्तर झन् कष्टकर बनाएको आरोप परिषद्ले लगाएको छ । समाजमा रहेका विभिन्न शोषणहरुलाई अन्त्य गर्ने क्रममा लघुवित्तहरुलाई पनि पत्र प्राप्त भएको दिनदेखि नै कारोबार बन्द गर्न भनिएको छ ।

उद्यम गर्न पाँच लाखसम्म ऋण
युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने निर्णय गर्यो । यसअघि प्रतिव्यक्ति  दुई लाख रुपैयाँ  दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ । पहिले दुई लाख रुपैयाँ दिँदा बिना धितो दिने गरेकामा अहिले भने पाँच लाख रुपैयाँसम्मको ऋण धितोमा दिने भएको हो ।

पाँच सयका नयाँ नोट बजारमा
नेपाल राष्ट्र बैंकले ५०० दरका नयाँ नोटहरु चलनचल्तीमा ल्यायो । पहिलेकै जस्तो आकार तथा रङमा नयाँ नोटहरु ल्याउने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटमा दुई वटा पाटेबाघको सट्टामा एउटा मात्रै राखिएको छ । संकेत नम्बर ङ।४६ ०००००१ देखि छ।४० ९९९९९९ सम्मका नोट वैशाख १२ गतेदेखि चल्तीमा ल्याएको राष्ट्र बैंकले जानकारी दिएको छ । चल्तीमा रहेका पाँच सय दरका नोट हरु यथावत रहने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । 

मुद्दतिमा एक अर्ब राख्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती खातामा एक अर्ब ३३ करोड ९७ लाख रुपैयाँ राख्ने भएको छ । यसका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकमा एक अर्ब ७१ करोड ७ लाख, विकास बैंकमा २० करोड १० लाख र फाइनान्स कम्पनीमा ६ करोड ७० लाख रुपैयाँ राख्ने जनाएको छ । राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्रमा भाग लिन चाहने वित्तीय संस्थाहरुले बैशाख १९ गते ३ बजेसम्ममा आफ्नो प्रस्ताव पेश गर्न सक्ने समेत जनाएको छ ।

ज्योति विकास बैंकको सीईओमा ज्ञवाली
ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भए । बैंकको बैशाख १२ गते बसेको संचालक समितिको ३०१औं बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । ज्ञवाली विगत दुई वर्षदेखि ज्योति विकास बैंकमा नै नायव प्रमुख कार्यकारी अधिकृत थिए भने विगत तीन महिनादेखि कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब आइतबार (वैशाख १६ गते)देखि उनले सीईओको कार्यभार सम्हाल्नेछन् । 

एनएमबि माइक्रोफाइनान्सको सीईओमा चौधरी
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले पदभार ग्रहण गरेका  छन् । चौधरीले वित्तीय संस्थाको केन्द्रीय कार्यालय, पोखरा लेखनाथ महानगरपालिका २५, हेम्जामा आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । 

धनी बन्दै नेपाली
नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर नाघेको विवरण सार्वजनिक भयो । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर पुगेको हो । यस्तो आय गत वर्षको तुलनामा एक सय ४२ अमेरिकी डलर बढी हो । गत वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय आठ सय ६२ अमेरिकी डलर रहेको थियो भने २०७३ मा यस्तो आय सात सय ५७ अमेरिकी डलर मात्रै रहेको थियो । 

सरकारी कारोबारमा विद्युतीय भुक्तानी प्रणाली
सरकारी कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको शुरूवात भएको छ । तत्कालका लागि करदाता सेवा कार्यालय ठमेलमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिएको अर्थमन्त्री  डा. खतिवडाले बताए । आगामी आर्थिक वर्षको सुरुवातदेखि भने पूर्ण रुपमा नै विद्युतीय भुक्तानी कारोबार गरिने उनले बताए । हालका लागि करदाताले एक लाख रुपैयाँसम्मको कर यो प्रणालीबाट तिर्न सक्नेछन् ।

घुस लिँदै गर्दा शाखा प्रबन्धक पक्राउ
सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीश प्रसाद काफ्ले पक्राउ परे । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले काफ्लेलाई ५० हजार रुपैयाँ सहित रङ्गेहात पक्राउ गरेको हो । युवा स्वरोजगार कार्यक्रममार्फत बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई  सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराए बापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

अन्य
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चितवनको नारायणगढमा आफ्नो १०औँ शाखा स्थापना गरी संचालनमा ल्यायो ।  
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गरायो ।
प्रभु बैंकले एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ५ थान कम्प्युटर हस्तान्तरण गर्यो ।
एनआईसी एशिया बैंक लिमिटेडले बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट पाचौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्यायो । 
प्रभु बैंक लिमिटेडले काठमाडौँको ज्ञानेश्वरमा नयाँ शाखा विस्तार गर्यो ।
इजीलिंक रेमिट्यान्स प्रा.लि. र सानिमा बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भयो ।
एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा शनिबार “सातौँ एनएमबि बैंक हेरिटेज वाक – २०१८” आयोजना गरेको छ । 
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७५ बैशाख १३ गते विहिवारदेखि गोंगबु शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गर्यो ।
एभरेष्ट बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स र एलआईसी नेपालसँग बैंकास्योरेन्स सम्झौता गर्यो ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस नामक कार्यक्रमको साझेदारी भयो ।