Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभरका टप १५ बैंकिङ खबरहरु

२०७४ चैत्र ३० गते

बैंकिङ खबर । यो साता नेपालको इतिहासमै पहिलो पटक महिला सीईओको नियुक्ति भएको समाचारले सर्वाधित चर्चा पायो । १० लाखसम्मको सुनचाँदी धितो कर्जालाई असल कर्जा मानिने राष्ट्र बैंकको व्यवस्था पनि चर्चामा रह्यो । त्यस्तै,  एनआईसी एशिया बैंकले पहिलो पटक विदेशी बैंकबाट कर्जा सापटी लिने सम्झौता गर्यो । समग्रमा, साताभर बैंकिङ क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

पहिलो महिला सीईओ नियुक्त
मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुँजेली नियुक्त भइन् । मेगा  बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक महिलालाई सीईओ बनाएको हो । खुँजेली चार वर्षका लागि मेगा बैंकको सीईओमा नियुक्त भएकी हुन् । बैंकको विहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिको वैठकले उनलाई सीईओको जिम्मेवारी सुम्पेको हो । दुई वर्षे कार्यकाल सकेर अनिल केशरी शाह अवकाश भएपछि उनले मेगा बैंकमा नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

१० लाखसम्मको सुनचाँदी कर्जा असल
नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँसम्मको सुनचाँदी धितो कर्जालाई असल मानिने व्यवस्था गर्यो । केन्द्रीय बैङ्कले आइतवार परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको छ । जसअनुसार, अब बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त धितो राखी १० लाख रुपैयाँसम्म सुनचाँदी कर्जा दिएमा उक्त कर्जालाई असल मानिनेछ ।अतिरिक्त धितो सुरक्षण वापत मुद्दती रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्तो कर्जा तथा सापटलाई भने असल, कमसल, सूक्ष्म निगरानी, शंकास्पद र खराव कर्जाको रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । जसअनुसार, बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालू पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिनेछ । त्यस्तै, इजाजतपत्र प्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारको विश्लेषण गर्दा कर्जाको सदुपयोग हुने सुनिश्चित भएमा मात्रै कर्जा नवीकरण गर्नुपर्ने व्यवस्था छ । चालू पुँजी प्रकृतिका कर्जामा प्राप्त हुनुपर्ने ब्याज नियमित नभएमा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरण गर्ने व्यवस्था रहेको छ ।

माछापूच्छ्रे बैंकको सीईओमा सुमन शर्मा नियुक्त
माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भए । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । निरज श्रेष्ठले कार्यकाल बाँकी छँदै राजिनामा गरेपछि माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । अहिले ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका शर्माले केही महिना अगाडि माछापूच्छ्रे बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा गरेका थिए । माछापुच्छ्रेमा जानुअघि उनी एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए । शर्माले सन् १९९७ मा नेपाल एसबिआई बैंकमा  अधिकृत स्तरबाट बैंकिङ करिअर सुरु गरेका थिए । यस आधारमा हेर्दा, शर्मासँग २० वर्ष लामो बैंकिङ अनुभव रहेको छ । शर्मा जोखिम तथा कर्जा लगानीका क्षेत्रमा अब्बल मानिन्छन् ।

एनआईसी एशिया लघुवित्तमा नयाँ संचालक समिति
एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गर्यो । नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् । भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रीय कार्यालय स्थापना भई २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको एनआईसी एशिया लघुवित्तमा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका  छन् ।

अर्थसचिवद्धारा राष्ट्र बैंक संचालक समितिको सदस्यका रुपमा सपथ ग्रहण
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थसचिव डा. राजन खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरे । सर्बोच्च अदालतका कामु प्रधान न्यायाधिश दीपकराज जोशीसमक्ष खनालले सपथ लिएका हुन् । महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपालको कर नीतिमाथि विद्यावारिधि गरेका खनाल सन् १९९३ देखि सरकारी सेवामा छन् । राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिवले प्रतिनिधित्व गर्ने कानुनी ब्यवस्था छ । गभर्नर नेतृत्वको सञ्चालक समितिमा अन्य ६ जना सञ्चालक हुन्छन् । अर्थसचिवसँगै दुई जना डेपुटी गभर्नर र तीन जना सरकारले नियुक्त गरेका ब्यक्ति सञ्चालक समितिमा हुन्छन् । 

एनआईसी एशिया बैंकद्धारा विदेशी बैंकसँग कर्जा ल्याउने सम्झौता
एनआईसी एशिया बैंक लिमिटेड र आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा कर्जा सम्झौतापत्र आदानप्रदान भएको छ । उक्त कर्जा सम्झौतापत्र आदानप्रदान समारोहमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा आई एफ सीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी थिए । उक्त दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ ।उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

लक्ष्मी बैंकको सुरक्षित भिसा कार्ड
लक्ष्मी बैंक लि.ले Verified by Visa-VbV– 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिट कार्डहरु ल्यायो । यस्तो सुनिश्चितताले ग्राहकलाई अनाधिकृत कारोबार हुनबाट जोगाउने बैंकले जनाएको छ । एकपटक रजिस्टर्ड गरेपछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाइन इकमर्शको कारोवार गर्न सक्ने बताइएको छ । लक्ष्मी बैंकले भारतको Izealiant Technologies Pvt. Ltd. को प्राविधिक सहकार्यमा यो सेवा सुरु गरेको हो । बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेभसाइटमा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नेछन् । 

वेतन कर्णालीमा दुई वाणिज्य बैंकको २५ अर्ब लगानी
सूर्खेत जिल्लाको चौकुने गाविसस्थित वेतन भन्ने स्थानमा निर्माण हुन लागेको वेतन कर्णाली जलविद्युत् आयोजनामा नेपाल एसबीआई बैंक र नविल बैंकले लगानी गर्ने सम्झौता गरे । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि स्रोत जुटाउने सन्दर्भमा कर्मचारी संचय कोषले नेपाल एसबीआई बैंक र नविल बैंकसँग सम्झौता गरेको छ । यी दुई बैंकले आयोजनाका लागि आवश्यक कुल ऋणमध्ये आंशिक अर्थात २५ अर्ब रुपैयाँसम्मको ऋण सहयोग गर्नेछन् । यसका लागि बैंकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने सम्झौता भएको छ । कर्मचारी संचय कोषको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच संचय कोषका कार्यवाहक प्रशासक दिपक रौनियार, नेपाल एसबीआई बैंकका प्रबन्धक संचालक एवम् प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिबन्धित भारु तस्कर पक्राउ
प्रहरीले प्रतिबन्धित करिब ५० लाख भारु नोटसहित बुधबार दुई जनालाई पक्राउ गर्यो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ४९ लाख ३१ हजार ९ सय ५ सय रुपैयाँ भारतीय रुपैयाँ बरामद गरेको हो । प्रहरीले नेपालबाट भारत लैजान लागेको अवस्थामा भारु नोट बरामद गरेको जनाएको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङका सुनील देव र नुवाकोटका चेतबहादुर नेपाली रहेका छन् । सुनील देव कपडा व्यापारी र नेपाली माओवादीका पूर्व लडाकु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट २ हजार २०६ थान एक हजार रुपैयाँका तथा ५ हजार ४ सय ५१ पाँच सय रुपैयाँका प्रतिबन्धित भारतीय नोट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम
बाजुरामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरियो । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो । दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले औपचारिक शुभारम्भ गरे । स्वास्थ्य बीमा सेवा जेठ १ गतेबाट शुरु गरिने भए पनि नाम दर्ता कार्यक्रम चैत २५ गतेबाट औपचारिक उद्घाटन गरिएको छ । जिल्लामा २०६८ सालको जनगणनाअनुसार २० हजार ९०८ वटा परिवार संख्या रहेको छ । पाँच जना संख्या रहेको प्रतिपरिवार रु दुई हजार २०० का दरले बीमा शुल्क लिइनेछ भने त्यसभन्दा माथि प्रतिव्यक्ति रु ४२५ थप गर्दै लगिने बताइएको छ । परिवारले रु दुई हजार ५०० बीमा बापतको रु ५० हजार बराबरको स्वास्थ्य उपचार सेवा पाउने छन् । सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचीकृत गरिएको छ ।

सहयोगी विकास बैंकको मोबाइल र प्रिभिलेज बैंकिङ
सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गर्यो । एक कार्यक्रमका बीच उक्त दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ ले गरे ।

शाखा विस्तार
प्रभु बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.५ टंगालमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्यायो ।
एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको मंगलबार (चैत्र २७ गते) औपचारिक उद्घाटन गरियो ।
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले चैत्र २६ गते डढेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा, चैत्र २७ गते कैलाली जिल्लाको टिकापुरमा र चैत्र २८ गते कन्चनपूर जिल्लाको महेन्द्रनगर एवम् कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयहरुको उद्घाटन गर्यो ।
एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको चैत्र २६ गते एक समारोहका बिच विधिवत समुद्घाटन गर्यो ।

तालिम
काठमाडौं नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्रका विपन्न गरीब महिलाहरुको सहभागितामा २०७४ चैत्र २५ गतेदेखि २७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको दाप्चा छत्रेबाझमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गर्यो ।
नागिरक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना नयाँ कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ५ दिने पूर्वसेवा प्रवेश प्रशिक्षण दिएको छ ।   

वार्षिकोत्सव
“स्वाधिन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणलीको निमार्ण” भन्ने मुल नाराका साथ ०६६ साल चैत्र २७ गते स्थापना भएको जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी आठौँ बार्षिकोत्सव मनायो ।
लक्ष्मी बैकको पोखरा औधोगिक क्षेत्र शाखाले आफ्नो ११ वर्ष पुरा गरेको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गर्यो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर श्री कमल निम्न माध्यमिक विद्यालयलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरायो ।
वार्षिकोत्सवकै अवसर पारेर सिद्धार्थ बैंकले जिरौना, चितवनमा नव निर्मित श्री कृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ नगद एक लाख पाँच हजार रुपैयाँ र आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गर्न रु.११०,००० बराबरको आर्थिक सहयोग प्रदान गर्यो ।

अन्य
बैंक अफ काठमाण्डू लिमिटेड र दि ओरिएण्टल इन्स्योेरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भयो ।
नेपाल क्लियरिङ हाउस लिमिटेड र कृषि विकास बैंक लिमिटेडबीच पुनः कनेक्ट आईपिएस सञ्चालन गर्ने सम्झौता भयो ।
एनएमबि बैंक लिमिटेडले सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य बराबरका ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गर्यो ।
सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भयो ।