April 10th, 2018

सात करोड भारु कागजका खोस्टासरह

बैंकिङ खबर । बैकिङ प्रणालीमा ठुला दरका (५ सय र १ हजार) ७ करोड भारु कागजका खोस्टा सरह भएका छन् । भारु नोटमा प्रतिबन्ध लागेको एक वर्षभन्दा बढी हुँदा समेत सटही हुने कुनै संकेत छैन । प्रतिबन्ध लागेका ती ठुला दरका भारु अहिले राष्ट्र बैंकका गोदाममा थन्किएका छन् । 

हालै भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारु सटहीका विषयमा कुनै छलफल नगरेपछि भारु भारु सटही ओझेलमा परेको हो । भारत भ्रमणभन्दा अघि भारु सटहीका विषयमा कुरा उठाउने भनेपनि भारत पुगेर यस विषयमा कुरा नउठ्दा भारु सटही थप जटिल बनेको छ । यसअघि पनि राष्ट्र प्रमुखहरुको भारत भ्रमणमा पनि भारु सटहीको विषय जोडदारका साथ नउठाइएकाले सटही झन् कठिन हुँदै गएको छ । 

नेपालको तर्फबाट पटक पटक पहल भएपछि भारतीय पक्षले प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ मात्र सटही गर्ने सहमति गरेको थियो । तर राष्ट्र बैंकले भने प्रतिव्यक्ति २५ हजार साट्न पाउनुपर्ने अडान राखेको थियो । पछिल्लो समय अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका सम्बद्ध निकायहरु भारुको विषयमा मौन छन् । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले सरकारको मातहतबाट भारु सटहीका बारेमा पहल गरिरहेको बताए । तर पछिल्लो समय भने कुनै पहल नभएको उनले स्वीकारे । 

यसभन्दा अघि राष्ट्र बैंकले पहल गर्न कुनै कन्जुस्याई नभएको दाबी गर्दै आएको थियो । नेपालले पटक पटक पहल गर्दा पनि भारतीय पक्षले रेस्पोन्स नगर्दा भारु सटही जटिल बनेको छ । नेपालमा भारुमा प्रतिबन्ध लागेको केही समयमा अर्थमन्त्रालय,परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले सटहीका लागि पहल गरेका थिए । तर बैकिङ प्रणलीमा रहेको भारु सटही हुने कुनै लक्ष्यण देखिएन । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आफ्ना भारतीय समकक्षीसँग पनि भारु सटहीका लागि पटक पटक पहल गरेका थिए । राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा एउटा समिति गठन गरेको थियो । सो नेपाली टोली भारत पुगेर भारु सटहीका विषयमा छलफल गरेको थियो । 

नेपालसँगै भुटानमा पनि भारु प्रतिबन्ध भएको थियो । भारतीय टोलीले नेपाल तथा भुटानसँग सटहीका लागि छलफल गरेपछि भुटाको भारु साट्यो तर नेपालमा भएको भारु साटिएन । नेपाली नागरिकले प्रयोजन खुलाएर जनही २५ हजार भारु सटही गर्ने पाउने सुविधा मोदी सरकारले नै प्रदान गरेको थियो । तर एक्कासी ठुला दरका भारु नोटमा प्रतिबन्ध लागेपछि ४ हजार ५ सय रुपैँयामा सिमित भयो । भारु सटही अन्यौल हुँदा बैंकिङ प्रणलीमा रहेका तथा अन्य व्यक्तिहरुसँग भएका भारु कागजका खोस्टा जत्तीकै भएका छन् । भारु प्रतिबन्ध भएलगत्तै सरकारी पक्षबाट भारु सटही हुने अवस्था नदेखेपछि यसअघि एनआइसी एसिया बैंकले आफ्नै पहलमा ६५ हजार रुपैँया भारु सटही गरेको थियो । पहुँच हुने कतिपय व्यक्ति तथा व्यवसायीहरुले आफ्नै पहलमा भारु साटे भने सर्वसाधारणले दुःख गरी कमाएको भारु अझै साट्न पाएका छैनन् । 

भारतले गत वर्ष नोबेम्बर ८ मा ५ सय र १ हजार दरको नोटमा प्रतिबन्ध लगाएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]