March 29th, 2018

धमाधम स्थानीय तहलाई बुझाइँदै सहकारी

त्रिलोचन रिजाल । संघीयताको कार्यान्वयनसँगै यहाँका स्थानीय तहहरूलाई आ–आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरू हस्तान्तरण गर्न थालिएको छ । डिभिजन सहकारी कार्यालय बागलुङले सहकारी ऐन ०७४ अनुसार स्थानीय तहहरूलाई सहकारी संघ–संस्था हस्तान्तरण गर्न सुरु गरेको हो ।

हालैमात्र बनेको सहकारी ऐन ०७४ ले सहकारी संघ–संस्थाको दर्ता, खारेजी, नियमन, संरक्षण, प्रवद्र्धनलगायतका अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । ऐनले गरेको व्यवस्थाअनुसार स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न थालिएको डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बताए । “सहकारीको अधिकार क्षेत्रबारे ऐनमा भएको व्यवस्थाअनुसार स्थानीय तहालाई सहकारीका अभिलेख हस्तान्तरण गर्न सुरु गरेका छौं,” शर्माले भने । डिभिजन सहकारी कार्यालय बागलुङमा धौलागिरि अञ्चलका १ हजार ६९ सहकारी संघ–संस्थाहरू दर्ता छन् । “कार्यालयमा दर्ता भएका सबै १ हजार ६९ वटै सहकारीहरू सम्बन्धित स्थानीय तहको जिम्मा लागाइनेछ,” शर्माले भने, “ऐनमा भएको नयाँ व्यवस्थाले सहकारी संस्थाहरूको सञ्चालन र नियमनमा सुधार आउनेछ ।” विगतमा अञ्चल भरका सहकारी संस्थाहरू डिभिजन सहकारी कार्यालयले नियमन गर्दा सबैतिर नजर पु¥याउन नसकेको स्वीकार गदै शर्माले अब नयाँ व्यवस्थाअनुसार सहकारी संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

कार्यालयको तथ्यांकअनुसार बागलुङ जिल्लामा ४ सय ३६, म्याग्दीमा २ सय १५ पर्वतमा ३ सय ३९ तथा मुस्ताङ जिल्लामा ३८ सहकारी संस्थाहरू छन् । कार्यालय मातहतमा रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १ हजार ६९ वटा सहकारी संस्थाहरूको अभिलेख हस्तान्तरण प्रक्रिया सुरु गरिएको डिभिजन प्रमुख शर्माले बताए । कार्यालयले अभिलेख हस्तान्तरणको सुरुवात म्याग्दी जिल्लाबाट गरेको छ । 

कार्यालयले पहिलोपटक म्याग्दीको रघुगंगा गाउँपालिकाका २१ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । सहकारी विभागका उपसचिव आनन्द सारुको उपस्थितिमा २१ सहकारी गाउँपालिका अध्यक्ष तथा प्रशासकीय अधिकृतलाई हस्तान्त्रण गरेको शर्माले बताए । “एक मात्र स्थानीय तह कार्यक्षेत्र भएका सहकारी संस्थाहरू सोही स्थानीय तहलाई जिम्मा लगाइनेछ ।” शर्माले भने, “एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारीलाई पनि प्रदेशमा हस्तान्तरण गरिनेछ ।” एक स्थानीय तहभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी संस्थाहरूलाई प्रदेशमा हस्तान्तरण गर्ने गरी ऐनले नै व्यवस्था गरेको छ । 

धौलागिरि अञ्चलभर २८ स्थानीय तह छन्, जसमध्ये ७ सय ४४ सहकारी संस्थाहरू स्थानीय तहमा तथा २ सय ९५ सहकारी संस्थाको प्रदेशमा अभिलेख पठाउनु पर्ने कार्यालयले जनाएको छ । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]