March 20th, 2018

कसिलो हुँदै वित्तीय अवस्था

राष्ट्र बैंकले देशको वित्तीय अवस्था कसिलो भएको जानकारी दिएको छ। बढ्दो चालु खाता घाटासँगै समग्र शोधनान्तरस्थिति ऋणात्मक रहेको अवस्थामा विदेशी मुद्रा सञ्चितीमा कमी आएपछि वित्तीय अवस्था कसिलो भएको हो।

बैंकले चालु आवको सात महिनामा देशको आर्थिकस्थिति सार्वजनिक गर्दै आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिले अर्थतन्त्रलाई खुकुलो बनाउँदै लैजाने विश्वास लिएको छ। यो अवधिमा व्यापार घाटा गत आवको यही अवधिको तुलनामा १९.४ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। पहिल्ला वर्षमा आयातको तुलनामा निर्यातमा देखिएको सिथिलता यो अवधिमा समेत कायम रहेको देखिन्छ। यो अवधिमा ४७ अर्ब ६२ करोडको सामान निर्यात भएको देखिन्छ। यो अवधिमा चीनतर्फको निर्यात भने ७२.३ प्रतिशतले बढेको छ।

यो अवधिमा पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपुर्जा, यातायातसाधन, सुन, पोलिथिन ग्रेनियुल्सलगायत वस्तुको आयात बढेको छ। कृषि औजार, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, जिक इनगोटलगायत वस्तुको आयात घटेको देखिन्छ। निर्याततर्फ भने पशुआहार, जुटका सामान, वनस्पती घ्यू, धागो, तयारी पोसाकलगायत वस्तुको निर्यात बढेको छ। जुस, अलैंची, जीआई पाइप, ऊनी गलैँचा, तामाका तारलगायत वस्तुको निर्यात घटेको देखिन्छ।

उद्योग र कृषि क्षेत्रका सूचकांक नकारात्मक भएको अवस्थामा सेवा क्षेत्रको सूचकांक समेत यो अवधिमा नकारात्मक रहेको देखिन्छ। समीक्षा अवधिमा कुल खुद सेवा आय दुई अर्ब ८२ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय चार अर्ब ५९ करोडले बचतमा थियो। विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले वृद्धि भई चार खर्ब एक अर्ब ३५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो।

विप्रेषण आप्रवाहमा आएको सिथिलता र बढ्दो व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चितीमा समेत कमि आएको छ। चार आवको सात महिनामा विदेशि विनिमयमा २५.७ प्रतिशतले कमी आएको छ। अहिले एक खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ बराबरको विदेशी सञ्चिती छ। २०७४ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको देखिन्छ। यो सञ्चितीले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको सेवा आयात मात्र थेग्न सक्छ।

अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक खर्ब ४१ अर्ब छ करोडले घाटामा छ। आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालु खाता उल्लेख्य घाटामा रहेको हो। यसैगरी, अघिल्लो वर्षको सात महिनामा ३६ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब २८ करोडले घाटामा छ।

अर्कोतर्फ गत आवको यही अवधिको तुलनामा सरकारी खर्च भने बढेको देखिन्छ। नगद प्रवाहमा आधारित कुल सरकारी खर्च चार खर्ब २८ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च तीन खर्ब १३ अर्ब ३० करोड थियो। यस अवधिमा चालु खर्च तीन खर्ब ४९ अर्ब ७५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च दुई खर्ब ३७ अर्ब ५४ करोड रुपैयाँ थियो। पुँजीगत खर्च २८ प्रतिशतले बढेर ६० अर्ब आठ करोड भएको छ। अघिल्लो वर्ष यस्तो खर्च ४६ अर्ब ९४ करोड भएको थियो । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]