बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मनी चेन्जर कम्पनीहरूलाई पिओएस (प्वाइन्ट अफ सेल) मेसिनमार्फत समेत मुद्रा सटही गर्न दिने व्यवस्था गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपालमा कार्ड प्रयोग गरेर पनि मुद्रा सटही गर्न पाउने भएका हुन् । यसअघि विदेशी नागरिकले मुद्रा सटही गर्दा नगदको मात्रै प्रयोग हुने गरेको थियो ।
यसअघि विदेशी नागरिकले कुनै देशको नगद दिएर मात्रै अर्को नगद मुद्रा लिन पाउने व्यवस्था थियो । विदेशी नागरिकले आफ्नो मुलुकबाट ल्याएको नगद अथवा नेपाल आएर बैंकबाट झिकेको नगद मनी चेन्जरमा लगेर सटही गर्दथे । अब भने विदेशी नागरिकले आफूसँग भएको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी मनी चेन्जरबाट आफूअनुकूल नगद सटही गर्न सक्नेछन् ।
‘मनी चेन्जरहरूले विदेशी पर्यटकलाई पिओएसमार्फत मुद्रा सटही सुविधा दिन सक्नेछन्’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कार्डहरू जस्तै भिसा इन्टरनेसनल, मास्टर, युनियन पेलगायत कार्डको प्रयोग गरेर विदेशीले मुद्रा सटही गर्न सक्नेछन् ।’
सटही प्रदान गर्न सकिने प्रतिकारोबारको सीमा, सेवा शुल्क र त्यसको बाँडफाँडसमेत पिओएस सेवा प्रदायक बैंक तथा वित्तीय संस्था र सम्बन्धित मनी चेन्जरबीचको सम्झौतामा उल्लेख भएअनुसार हुने राष्ट्र बैंकले जनाएको छ । पिओएसबाट मुद्रा सटही सुविधा दिने सेवाका लागि मनी चेन्जरहरूले राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष कम्तीमा १२ लाख अमेरिकी डलर कारोबार गरेका मनी चेन्जरलाई मात्रै पिओएस प्रयोग गर्न सकिने गरी इजाजत दिने राष्ट्र बैंकले जनाएको छ ।
यो सुविधा नेपालीहरूलाई भने छैन । नेपालीले मुद्रा सटही गर्दा नगदकै प्रयोग गर्नुपर्ने हुन्छ ।