बैंकिङ खबर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अझै पनि बैंकिङ्ग सेवाको अभाव हुँदा सर्वसाधारणहरु सहकारीबाट चर्को व्याजदरमा ऋण लिन बाध्य भएका छन् । नेपाल राष्ट्र बैंकले एउटा स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक खोल्ने नीति लिए पनि काठमाडौँसँग जोडिएको चाँगुनारायणमा हालसम्म वाणिज्य बैंकको शाखा स्थापना नहुँदा सेवाग्राही मारमा परेका हुन् ।
चाँगुनारायण जिल्लाकै सबैभन्दा बढी ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस नगरपालिकाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोललगायत क्षेत्रका बासिन्दालाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असहज भएको छ । यहाँका बासिन्दा सहकारीमार्फत आर्थिक कारोवार गर्दै आएका छन् ।
सरकारले १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेपछि स्थानीयवासीलाई समस्या भएको छ । सम्पत्ति शुद्धीकरण आयोगले पनि १० लाखदेखि माथिको कारोवार गर्दा बैंक र चेकबाट मात्र गर्नुपर्ने निर्देशन जारी गरेको छ । खाता खोल्न र खातामा भएको रकम झिक्न एक दिनको समय खेर जानेगरी कमलविनायक र सूर्यविनायक धाउनुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । धेरै रकम लिएर हिँड्नु पर्दा लुटपाटको समेत डर हुने उनीहरुको भनाई छ ।
अहिले चाँगुनारायण नगरपालिकाको आर्थिक कारोवार माछापुच्छ्रे, नेपाल बैंक र कैलाश विकास बैंकमार्फत भइरहेको छ । नगरपालिकामा बैंक सेवा ल्याउनका लागि माछापुच्छे«, प्रभु, सानिमा, एनएनबी, नेपाल बैंकलगायत १० वटा बैंकमा पत्राचार गरी पटक पटक छलफल गरिएको भए तापनि हालसम्म कुनै बैंकले शाखा नखोलेको नगरपालिकाका एक अधिकारीले बताए । जिल्लामा रहेका बैंक सूर्यविनायक र कमलविनायकमा बढी केन्द्रित छन् ।