Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्त क्षेत्रका समस्या र समाधानका पहलहरु

२०७४ फाल्गुन २५ गते

नरबहादुर थापा । अहिले नेपालका लघुवित्तहरुमा केहि समस्या देखिएको छ । हाल संचालनमा रहेका लघुवित्तहरुको सहयोगका लागि राष्ट्र बैंकले विभिन्न सेवा सुविधाहरु ल्याएको छ । नेपाल राष्ट्र बैंक विश्वको एक मात्रै केन्द्रीय बैंक हो जसले वित्तीय समावेशीताको मुद्धा समाधान गर्ने उपायको रुपमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई क्रमशः ५, साढे ४ र ४ प्रतिशत अनिवार्य विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने नियम बनाएको छ । यस प्रकारले समग्र कर्जालाई हेर्ने हो भने एक सय ११ अर्ब रुपैयाँ शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा गएको छ । यसले गर्दा लघुवित्तहरुलाई कुनै फण्डको समस्या छैन । 

लघुवित्तहरुमा डुप्लिकेसनको समस्या रहेको छ । एउटै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य भएर ऋण लिएको हामीले पाएका छौँ । एउटा लघुवित्तबाट लिएको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिने प्रचलन पाइएको छ । एउटै व्यक्ति १२ वटासम्म लघुवित्तमा सदस्य बनेर लघुवित्तबाट प्राप्त कर्जाको दुरुपयोग समेत गरेको पाइएको छ । यसरी राष्ट्र बैंकले उपलब्ध गराएको वित्तीय साधन दुरुपयोग भइरहेको हामीले निरिक्षण गर्दा पाएका छौं । यस क्षेत्रमा जग्गा दलालहरु पनि प्रवेश गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुलाई बढी व्याज दिने लोभमा पारेर यस्ता दलालहरुले ठूलो रकम हात पार्ने र फरार हुने गरेका छन् । यसले पनि लघुवित्त क्षेत्रलाई समस्यामा पारेको छ । यद्यपि, लघुवित्तहरुले आफ्ना सदस्यहरुलाई कर्जा दिन बन्द नगरेका कारण यो कुरा सतहमा आएको छैन । 

गभर्नर सरले विभिन्न कार्यक्रममा गएर लघुवित्त क्षेत्रमा भएको विकृतिहरुको उजागर गर्दा नकारात्मक रुपमा बंगाएर समाचार बनाउने गरेको समेत पाइएको छ । यसलाई सकारात्मक रुपले लिइदिनुहुन म आग्रह गर्दछु । हामीले विकृतिहरुबाट लघुवित्त क्षेत्रलाई सचेत गराएका हौँ । लघुवित्त क्षेत्र नडुबोस् भन्ने भावना राष्ट्र बैंकको छ । यसका लागि राष्ट्र बैंकले कर्जा सूचना केन्द्रलाई पनि सक्रिय बनाएको छ । सूचना केन्द्रमा लघुवित्तहरु जाउन्, कर्जा दिँदा कर्जा सूचना केन्द«को वेभसाइटमा हेरेर मात्रै कर्जा दिउन् भन्ने हाम्रो चाहना छ । यसले कर्जाको दुरुपयोग रोक्न मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । लघुवित्तहरुले कर्र्जा दिएको १५ दिनमा त्यो सूचना पोष्ट गर्नुपर्ने प्रावधान रहेपनि लघुवित्तमा काम गर्ने जनशक्तिले सूचना पोष्ट नगरेको पाइएको छ । अन्य बैंक जान नसकेका ठाउँमा लघुवित्तहरुले बैंकिङ सेवा दिएका छन् यो सराहनीय छ । यसकारण यिनीहरुलाई बढ्दो विकृतिबाट जोगाउन राष्ट्र बैंकले चिन्ता प्रकट गरेको हो । त्यसैले अब लघुवित्तमा काम गर्नेले राष्ट्रिय महत्व बुझ्नुपर्छ । आफ्नो संस्थाको मात्रै भलाई सोँच्दा समग्र लघुवित्त क्षेत्र नै ढल्न सक्छ । यसतर्फ ध्यान दिन जरुरी भइसकेको छ । 

Ad