Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सेयरबजार घट्दा म्युचुअल फण्डको एनएभीमा असर

२०७४ फाल्गुन २१ गते

पूँजी बजार घट्दै जाँदा त्यसको असर म्युचुअल फण्डहरूको खुद सम्पत्ति मूल्य (एनएभी)मा परेको माघ मसान्तको विवरणले देखाएको छ । म्युचुअल फण्डहरूले शेयरमा लगानी गर्ने भएकोले शेयर बजारमा आउने उतारचढावले प्रत्यक्ष असर पार्ने गर्छ । शेयर बजार घट्दा म्युचुअल फण्डको एनएभी पनि घट्ने गरेको छ भने बजार बढ्दा यिनीहरूको एनएभीसमेत बढ्ने गरेको छ ।

विगत केही महीनादेखि बजार घटिरहँदा म्युचुअल फण्डहरूले पनि शेयरमा लगानी घटाएको प्रकाशित विवरणमा देखिन्छ । योजनाले सार्वजनिक गरेका खुद वित्तीय विवरणअनुसार माघ मसान्तमा ११ ओटा योजनाको एनएभी घटेको छ भने सानिमा इक्विटीको स्थिर छ । गत पुस मसान्तको तुलनामा माघ मसान्तमा यी फण्डको एनएभी ३ दशमलव २८ अङ्क घटेको हो । गत मसान्तमा रू. १ सय ३७ दशमलव २९ रहेको एनएभी माघ मसान्तमा घटेर रू. १ सय ३४ दशलमव शून्य १ मा आइपुगेको छ ।

सूचीकृत धितोपत्र लगानीमा तीन योजनाको मात्र लगानी बढेको देखिन्छ भने ९ योजनाको लगानी घटेको छ । साना लगानीकर्ताका लागि उपयुक्त मानिने म्युचुअल फण्डहरूले माघ मसान्तमा धितोपत्रमा रू. ५ अर्ब ८५ करोड ८६ लाख २८ हजार लगानी गरेका छन् । पुस मसान्तमा यी योजनाले धितोपत्रमा रू. ६ अर्ब २६ लाख ७८ हजार लगानी गरेका थिए । यो गत मसान्तको तुलनामा १४ करोड ४० लाख ५० हजार कम हो । सानिमा इक्विटी फण्डले सूचीकृत धितोपत्रमा गत आवको तुलनामा रू. ६ करोड ५१ लाख लगानी बढाएको छ ।

१२ म्युचुअल फण्डहरूमध्ये नबिल ब्यालेन्स फण्डको माघ मसान्तमा एनएभी रू. १८ दशमलव शून्य ३ छ । यो गत आवको तुलनामा रू. शून्य दशमलव ३३ कम हो । पुस मसान्तको तुलनामा एनआईबीएल प्रगति फण्डको एनएभी सबैभन्दा बढी रू. शून्य दशमलव ४३ प्रतिशल घट्न पुगेको छ । यस योजनाको एनएभी पुस मसान्तमा रू. ९ दशमलव १६ थियो भने माघ मसान्तमा रू. ८ दशमलव ७३ छ ।

शेयरमा सबैभन्दा बढी लगानी एनआईबीएल समृद्धि फण्डले गरेको छ । यस फण्डले माघ मसान्तमा रू. ८५ करोड ६८ लाख शेयरमा लगानी गरेको छ । योजनाले पुस मसान्तमा रू. ८९ करोड ३६ लाख शेयरमा लगानी गरेको थियो । यो गत मसान्तको तुलनामा रू. ३ करोड ६७ कम हो । योजनाले सूचीकृत सार्वजनिक निष्कासन, हकप्रद र बोनस शेयरमा लगानी गरेका हुन् । आर्थिक अभियानमा प्रकाशित समाचार