March 4th, 2018

पशु बीमामा कृषक उदासीन, साढे दुई हजारको मात्रै बीमा

रुद्र सुवेदी । पशु बीमा कृषक उदासीन रहेको कारण १२ लाखको हाराहारीमा पशुपक्षी भए पनि २ हजार ६०७ पशुपक्षीको मात्र बीमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लाका २५० किसानले पशुपक्षी बीमाको सुविधा लिएका छन् ।

कार्यालय प्रमुख डा. वेदराज केसीले सरकारले पशुपक्षीको बीमाको रकम मन्त्रालयबाटै सिधै बीमा कम्पनीमा पठाइदिने गरिएको छ । सोही कारण बीमाको सेवा लिने किसान तथा दिने बीमा कम्पनीले अप्ठ्यारो पर्दा मात्र जिल्ला पशु सेवा कार्यालयमा जानकारी दिने गरेका छन् । सेवाग्राही अप्ठ्यारोमा परे भने मात्र सिफारिसका लागि कार्यालयमा आउने गरेको कारण यकिन तथ्यांक आउने गाह्रो भएको सीको भनाइ छ । कार्यालयमा आउने सेवाग्राहीसँग सोधपुछ गरेर बिमित पशुपक्षीबारे तथ्यांक खडा गर्ने गरेको उनको भनाइ छ ।

जिल्लामा दर्ता भएका ८३३ वटा पशुपक्षी फार्म भए पनि चालू आर्थिक वर्षको ६ महिनासम्ममा २५० किसानले आफ्ना पशुपक्षीका बीमा गराएका छन् । गत आर्थिक वर्षमा ३ सय ३१ जना कृषकले मात्र पशु बीमा गराएका थिए । आव २०७३÷०७४ मा २ लाख २० हजार ४५३ गाईभैंसी रहेकोमा १५४ जना कृषकले ४१२ गाईभैंसीको मात्र बीमा गरेकोमा यो वर्ष २०५ किसानले ४२१ को मात्र बीमा गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

यो वर्षको ६ महिनामा ३५ जना किसानले २८२ भेडाबाख्राको बीमा गराएका छन् । गत वर्ष बाँकेमा १५७ जना कृषकले २८३ वटा भेडाबाख्राको बीमा गराएका छन् । यहाँ ३ लाख १० हजार २५९ बाख्रा छन् । गत वर्ष बाँकेमा कुखुरा र बंगुरको बीमा नै नभएको पाइए पनि यो वर्षमा भने ५ जना किसानको ४४ वटा बंगुर र ५ जना किसानले १ हजार ८६० वटा कुखुराको बीमा गराएका छन् ।

बाँकेमा गत वर्ष २ करोड २० लाख ८० हजार रुपैयाँबराबरको पशु बीमा गरिँदा यो वर्ष त्यसमा दोब्बर रकमको बीमा गरिएको पाइएको छ । यो वर्ष ४ करोड ८० लाख ७० हजार बराबरको पशुधनको बीमा गरिएको जिल्ला पशु सेवा कार्यालय बाँकेले जनाएको छ । ‘पुशपक्षीको संख्याको तुलनामा बीमा गराउनेको संख्या एकदमै कम छ, बीमाबारे जानकारी भए पनि यसप्रति कृषकले चासो राख्दैनन्,’ केसीले भने ।

कुखुरा र बंगुरमा बीमा
आव २०७३/७४ मा एकजना पनि कुखुरा र बंगुरपालक कृषकले बीमा नगराएको भए पनि उक्त आर्थिक वर्षको कात्तिकसम्ममा ४४ वटा बंगुर र १ हजार ८६० कुखुराको बीमा भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख डा. केसीले कुखुुराको बीमा गराउने र विमित रकम लिने प्रक्रिया झन्झटिलो भएकाले कुखुरापालक कृषकले बीमा गराउन नमान्ने गरेको बताए । ‘एक दुईवटा कुखुरा मरेमा बीमाबापतको रकम नपाइने भएकाले कुखुरापालक कृषकले बीमा गराउन मान्दैनन्,’ उनले भने । सरकारले पशु बमाका लागि विशेष सहुलियत दिएको छ । कुल बिमित रकमको ७५ प्रतिशत सरकार र २५ प्रतिशत रकममात्र कृषकले बेहोर्ने प्रावधान छ । तर, बाँकेका पशुपालक कृषकको आकर्षण यसतर्फ बढ्न नसकेको वरिष्ठ पशु चिकित्सक केसीले बताए । ‘बीमाबाट हुने फाइदाबारे सम्झाइबुझाई गर्दासमेत कृषकले मान्दैनन्,’ उनले भने ।

भैंसी र बाख्रोको बढ्दो
पछिल्लो समय बाँकेमा पशुचौपायाको संख्या विस्तारै बढ्दै गएको छ । व्यावसायिक पशुपालन सुरु भएपछि बाँकेमा पशुचौपायाको संख्या केही बढेको पशु सेवा कार्यालयले जनाएको छ । वरिष्ठ पशु चिकित्सक केसीले दिएको जानकारीअनुसार एक वर्षको अवधिमा लगभग २ हजार गाईगोरुको संख्या वृद्धि भएको छ । आव २०७२/७३ मा २ लाख १८ हजार ७ सय ९४ रहेकोमा आव २०७३÷७४ मा शून्य दशमलव ७५ प्रतिशतले बढेर २ लाख २० हजार ४५३ गाईगोरु रहेका छन् ।

गाईको तुलनामा भैंसी, राँगा, बाख्रा र घोडा÷खच्चडको संख्या भने बाँकेमा सन्तोेषजनक रूपमा वृद्धि भएको छ । आव २०७३÷७४ मा भैंसी, राँगा, घोडा, खच्चड २–२ प्रतिशत र बाख्रा ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको पशु सेवा कार्यालयको तथ्यांकले देखाएको छ । तर, बंगुरको संख्या माइनस २ प्रतिशतले घटेको छ । आव २०७२/७३ मा ८७ हजार ८ सय २८ रहेकोमा आव २०७३÷७४ मा घटेर ८५ हजार ३४५ मा झरेको छ । बाँकेमा कुखुराको संख्या पनि वृद्धि हुन नसकेको पशु सेवा कार्यालयले जनाएको छ । हाल बाँकेमा ३ लाख २ हजार ६९९ कुखुरा छन् । आव २०७२/७३ मा ३ लाख ११ हजार ९ कुखुरा थिए । राजधानी दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]