March 4th, 2018

निक्षेप जुटाउन बैंक कर्मचारीको दौडधूप

सन्तोष गौतम । रेमिट्यान्स आप्रवाह घट्नु, सरकारी खर्च अपेक्षाकृत नहुनु र कर्जाको माग बढेपछि म्याग्दीमा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । निक्षेप संकलनका लागि बैंकका कर्मचारीको दौडधुप बढेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले कर्मचारीहरु बचतकर्ता खोज्न घरदैलो गर्न थालेका हुन् । 

विप्रेषणमा आश्रित म्याग्दीको अर्थतन्त्रमा रेमिट्यान्स घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुंगानाले बताए । “रेमिट्यान्स घटेको र सरकारी खर्च अपेक्षाकृत नहुँदा बजारमा तरलता अभाव भएको हो,” उनले भने, “निक्षेप संकलनमा लक्ष्य पूरा गर्न सहकारीका बजार प्रतिनिधिको भन्दा धेरै दौडधुप छ ।”

बेनीमा रहेका विभिन्न बैंकका १८ वटा शाखाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब २८ करोड २० लाख लगानी भएको जनाएका छन् । यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो । बैंकमा जम्मा भएको निक्षप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा १५ करोड रुपैयाँ निक्षेप रहेकोमा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर १२ करोड ९५ लाखमा खुम्चिएको छ । कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्य खाडीमुलुक कतारको समस्याका कारण घटेको विप्रेषण जापान, अस्टे«लियालगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीमार्फत फिर्ता हुने क्रम बढेकाले जिल्लामा तरलताको अभाव भएको गरिमा विकास बैंकका बेनी शाखा प्रबन्धक कमल ढुंगानाले बताए । जिल्लामा रहेका सबै बैंकहरूको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा छ । कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन् । एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन् ।

कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फर्म नगन्य संख्यामा छन् । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षाविपरित सरकारी बजेट कम भएको र रेमिट्यान्सबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो,” माछापुच्छ बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भने, “वित्तीय साक्षरता पनि न्यून र सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ ।”

जिल्लामा भित्रिने रेमिट्यान्समध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पलायन भएकाले बैंकहरूमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन् । सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन् । 

म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमिरेले तरलता अभावको समस्या समाधानका लागि सरकारी निकायले पुँजीगत खर्च वृद्धिसँगै वैदेशिक रोजगारी मार्फत भित्र्ने बिप्रेषणलाई जिल्लामै उत्पादनशील क्षेत्रमा परिचालन हुने वातावरण बनाउनुपर्ने बताए । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]