महालेखा नियन्त्रकको कार्यालयले मंगलबार (फागुन १५ गते)देखि NCHL-IPS मार्फत विद्युतीय भुक्तानी कारोबार सुरु गरेको छ । कार्यालयले सिंहदरबार स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवाप्रदायक फर्म, कम्पनी, संस्था वा यक्तिको बैंक खातामा नै जम्मा हुने गरी उक्त सेवालाई विस्तार गर्ने क्रममा पहिलो चरणमा ललितपुर र क्रमशः काठमाडौं, भक्तपुर हुँदै नेपाल भरिकै सबै कार्यालयबाट लागू गर्ने बताएको छ ।
NCHL-IPS मार्फत विद्युतीय भुक्तानी गर्न सम्बन्धित कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउँदा अब भुक्तानी दिनुपर्ने सेवाप्रदायक संस्था, फर्म, कम्पनी वा व्यक्तिको बैंक खाता पनि उपलब्ध गराउनुपर्ने हुन्छ । भुक्तानी आदेश प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले आफ्नो बैंक मार्फत हितग्राहीको खातामा सिधै रकमान्तर गरिदिने छ । हाल एभरेष्ट बैंक लि., नेपाल बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि. र कृषि विकास बैंक लि.बाट सरकारी भुक्तानी कारोबार हुँदै आएको छ ।
यस विस्तारले नेपाल सरकारको भुक्तानी कारोबारहरु सिधै बैंक मार्फत विद्युतीय माध्यमबाटगरिदा वित्तीय अनुशासन र वित्तीय पारदर्शीता कायम गर्न विशेषमद्दत पुग्नुका साथै नेपाल सरकारको विद्युतीय भुक्तानी गर्ने नीति कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास नेपाल क्लियरिङ्ग हाउसले लिएको छ ।