बैंकिङ खबर । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । चैत्र १८ गतेसम्म खुला हुने सेयरमा माघ ७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख रुपैयाँ बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल कम्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एनआईविएल क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु ललितपुर र पोखरा, एशियन लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा शाखा कार्यालयहरुबाट र आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ ।
हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापक शेयरधनीतर्फ ७० प्रतिशत अर्थात ८४ करोड २८ लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीतर्फ ३० प्रतिशत अर्थात ३६ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।
