बैंकिङ खबर । सिआस्वामार्फत आवेदन दिँदा कुनै शूल्क नलाग्ने र मेरो सेयरबाट आवेदन अनिवार्य नरहेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले स्पष्ट पारेको छ । विहीबार पत्रकार सम्मेलन गरि कम्पनीले मेरो सेयर प्रयोग नगर्ने लगानीकर्ताले पनि सेयरमा आवेदन दिन सक्ने र यसमा कुनै अतिरिक्त शूल्क नलाग्ने जानकारी दिएको हो ।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने र मेरो सेयर नै अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था नरहेको बताए । सिआस्वामा पनि लगानीकर्ताले अहिले जस्तै बैंकमा उपस्थित भई आवेदन दिन सक्ने बताए । सिआस्वा आगामी फागुन ११ गतेदेखि अनिवार्य रुपमा लागू हुँदैछ ।
लगानीकर्ताले अनिवार्य सिआस्वा प्रणाली लागू भएपछि आफ्नो खाता रहेको बैंकमा गएर बैंक खाता र हितग्राही खाता रुजु गराउनुपर्ने हुन्छ । यसपछि सिआस्वा रजिष्ट्रेशन नम्बर अर्थात सिआरएन नम्बर प्राप्त हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् ।
आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
सिडिएससीले सिआस्वामा आवद्ध संस्थालाई सबै शाखाबाट सेवा प्रदान गर्न र आवद्ध हुने क्रममा रहेका वित्तीय संस्थालाई तत्काल आवद्ध भई सेवा सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।