Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वित्तीय संघीयता चुनौतिपूर्ण भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको ठम्याई

२०७४ माघ १६ गते

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले उचित व्यवस्थापन गर्न नसके वित्तीय संघीयता चूनौतिपूर्ण हुने बताएको छ । आफ्नो पछिल्लो विश्व आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा कोषले संघीयतालाई उचित व्यवस्थापन गर्न नसके अर्थतन्त्र नै जोखिममा पर्न सक्ने चेतावनी दिएको छ । वित्तीय सङ्घीयताका चुनौती सम्बोधन गर्न सरकारले दिगो आर्थिक नीति बनाउनुपर्नेमा कोषले जोड दिएको छ ।

सम्भावित जोखिमबारे सरकार र नीति निर्मातालाई सचेत गराउँदै आईएमएफले गत आर्थिक वर्ष प्राप्त गरेको उच्च आर्थिक वृद्धिलाई जोगाउन सुझाव दिएको छ । सङ्घीयता कार्यान्वयन तथा आवश्यक स्रोत व्यवस्थापनका लागि वित्तीय अनुशासन र पूँजी निर्माणमा जोड दिनु आवश्यक रहेको कोषको भनाई छ । उच्च आर्थिक वृद्धिका लागि आवश्यक लगानी आकर्षित गर्न सार्वजनिक प्रशासन तथा नीतिगत सुधारका कार्यक्रमलाई पनि सँगसँगै लैजानुपर्ने काषले औँल्याएको छ ।

वर्षा, सहयोगी मौद्रिक नीति र सरकारको खर्च क्षमताका कारण नेपालको वास्तविक गार्हस्थ्य उत्पादन वृद्धिद्धर आर्थिक वर्ष २०७३।७४ मा सात दशमलव पाँच प्रतिशत पुगेको आईएमएफको तर्क छ । धेरै वर्षपछि नेपालको मुद्रास्फीति करीब तीन प्रतिशतमा सीमित रहनुलाई कोषले सकारात्मक मानेको छ । 

नेपालको बैङ्किङ प्रणाली निजीक्षेत्रको मागअनुसार लगानी विस्तार गर्न चुकेको कोषको विश्लेषण छ । ‘विस्तारकारी वित्त नीतिले निम्त्याउने उच्च मूल्य वृद्धिको जोखिमलाई दृष्टिगत गर्दै अहिले नै कसिलो मौद्रिक नीतिको विकल्प देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ । उदार मौद्रिक नीतिले चुक्ता पूँजीमा भएको चार गुणा वृद्धिका कारण कर्जा विस्तार बलियो भएको विश्लेषण गर्दै कोषले तीव्र कर्जा वृद्धिसँगै बैङ्किङ क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताएको छ । नियामक ढाँचा, ऋण वर्गीकरण, खराब कर्जा व्यवस्थापन तथा जोखीम व्यवस्थापनको व्यवस्थामा भएका पछिल्ला संशोधनलाई अझ सुधार गरिनुपर्ने कोषको प्रतिवेदनमा उल्लेख छ ।

Ad