Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफ इन्स्योरेन्सले ६६ करोडको आईपिओ जारी गर्ने 

२०७४ माघ १० गते

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा माघ १० गते कम्पनीको रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पशुपति मुरारकाको सभापतित्वमा सम्पन्न साभारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण सेयर जारी गर्ने विशेष प्रस्तावसहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७३/७४ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७४÷७५ को लागि लेखा परिक्षक नियुक्तिको साथै संस्थापक समुहअन्तर्गत ४ जना संचालकहरुको चयन गर्ने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । निर्विरोध निर्वाचित हुने संचालकहरुमा पशुपती मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन छन् । नव निर्वाचित संचालकहरुलाई कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले बधाइ तथा शुभकामना दिई सम्मान गरे ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कम्पनीका अध्यक्ष मुरारकाले संचालनको छोटो अवधिमा देशका सातै प्रदेशका विभिन्न स्थानमा ४५ वटा शाखा÷उपशाखा बाट सेवा विस्तार, ६ वटा आकर्षक बीमा योजना जारी, प्रतिष्ठित बैंकसँग बैंकास्योरेन्स सेवा सम्झौता, कम्पनीको व्यवसायिक सद्भावना दुतको आबद्धता र चालु आर्थिक वर्षको प्रथम त्रैमासमा उल्लेख्य मुनाफा हासिल लगायतलाई कम्पनीको बलियो आधार स्तम्भको रुपमा उल्लेख गरे । आगामी दिनमा व्यवसाय वृद्धिमा विशेष ध्यान दिई कम्पनीलाई अग्रणी स्थानमा पुर्याउने लक्ष्य लिएको मुरारकाले बताए ।

साधारणसभामा कम्पनीका संचालक, सेयरधनी, कार्यकारी उपप्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।