एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले एक अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डको इकाई माघ २ गतेदेखि सर्वसाधारणमा विक्री गरिने भएको छ ।
क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल (कोष व्यवस्थापक)लाई “[ICRANP-IR] AMC Quality 3 (AMC3)” तथा एनआईसी एशिया बैंक लिमिटेड (कोष प्रबद्र्धक) लाई “ [ICRANP – IR] A-” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।
एनआइसी एशिया ग्रोथ फण्डले एक अर्ब बराबरको १० रुपैयाँ अंकित मूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्री गर्नेछ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार एक अर्ब पच्चीस करोड रुपैंयासम्म पुर्याउन सकिने बताइएको छ । म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।
सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागि पनि सामुहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्छ । विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानी कोषको आकर्षण बढ्दो छ ।