नेपाल बैक लिमिटेडले सबै शाखाबाट आफ्ना निक्षेप ग्राहकलाई केन्द्रीकृत आस्वा सेवाको आरम्भ गरेको छ । यस प्रणाली अनुसार नेपाल बैकका निक्षेपकर्ताहरुले कुनै पनि शाखाबाट सार्वजनिक निष्काशन अन्तर्गतका (आईपिओ, एफपिओ, राईट, डिवेन्चर) आदी खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै बैकमा डिम्याट खाता खोलेका निक्षेपकर्ताहरुले मेरो शेयर नामक अनलाईन सेवा मार्फत संसारका कुनै पनि कुनाबाट सरल एवं सहज ढंगले आफनो शेयर कारोवारबारे जानकारी लिन र धितोपत्र कारोवारको लागि आवेदन दिन सक्ने छन् ।
स्मरण रहोस्, नेपाल बैक लिमिटेडले गत वर्षदेखि नै ग्राहकलाई डिम्याट र मेरो शेयर सेवा उपलव्ध गराउनुका साथै आफ्ना ८८ शाखाहरुबाट निक्षेपकर्ताले धितोपत्र खरिदका लागि आवेदन दिंदा उनीहरुको खातामा धितोपत्र आवेदन बरावरको रकम रोक्का राखी त्यसको वांडफांड पश्चात सो बराबरको रकममात्र सम्वन्धित खातामा खर्च गर्ने आस्वा सेवाको शुरुआत गरेको थियो । यस सेवालाई हाल सबै शाखामा विस्तार गरेपछि देशका दुर्गम सुगम स्थानका यस बैकका सबै निक्षेप ग्राहकहरुलाई धितोपत्रको प्रारम्भिक बजारमा सहभागी हुन सहज हुने विश्वास लिईएको छ । नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । देशका ५३ जिल्लाका हिमाल पहाड तराईमा फैलिई १३४ शाखा ८ एक्सटेन्सन काउन्टर र ५३ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुरयाईरहेको यस बैकले थप २५ स्थानमा छिटै शाखाहरु स्थापना गर्दैछ ।