बैंकिङ खबर । प्रदेश नम्बर एक स्थित तेह्रथुम जिल्ला बैंकिङ पहुँचका हिसाबले कमजोर रहेको छ । तर, छिटै नै जिल्लाका सबै स्थानीय तहहरु बैंकिङ पहुँचभित्र हुँदैछन् । जिल्लामा तीन गाउँपालिका र दुई नगरपालिका गरी पाँच स्थानीय तह छन् । जसमध्ये, दुई स्थानीय तहमा मात्रै बैंक पुगेका छन् भने तीन वटा स्थानीय तहमा हालसम्म कुनै पनि बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् ।
एउटा नगरपालिकामा बैंक
तेह्रथुममा जममा दुई वटा नगरपालिका रहेकोमा एउटामा मात्रै बैंकहरुले शाखा विस्तार गरेका छन् । म्याङ्लुङ नगरपालिकामा बैंकिङ पहुँच पुगिसकेको छ भने लालीगुराँस नगरपालिकामा बैंकिङ पहुँचबाहिर रहेको छ ।
एउटा गाउँपलिकामा मात्रै बैंक
अधिकांश गाउँपालिका पनि बैंकविहीन छन् । तीन गाउँपालिकामध्ये, आठराई गाउँपालिकामा मात्रै बैंक पुगेको छ । छथर गाउँपालिका र फेदाप गाउँपालिकामा बैंक पुगेका छैनन् ।
तीन स्थानीय तहमा छिटै बैंक पुग्दै
बैंकिङ पहुँच नपुगेका तीन वटै स्थानीय तहमा छिटै बैंक पुग्दैछन् । फेदाप गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो शाखा विस्तार गर्ने भएको छ । त्यस्तै छथर गाउँपलिकामा नेपाल बंगलादेश बैंकले शाखा खोल्ने भएको छ । लालिगुराँस नगरपालिकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंकले शाखा खोल्दैछ ।