बैंकिङ खबर । प्रदेश नम्बर १ स्थित धनकुटा जिल्ला अन्य जिल्लाहरुको तुलनामा बैंकिङ पहुँचमा अगाडी देखिएको छ । यहाँको ७१ प्रतिशतभन्दा बढी स्थानीय तहमा बैंक पुगिसकेका छन् ।
दुई स्थानीय तहमा छैनन् बैंक
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरी कुल सात स्थानीय तह रहेका छन् । जसमध्ये, पाँच वटा स्थानीय तहमा बैंकहरुले शाखा विस्तार गरिसकेका छन् भने दुई वटामा मात्रै हालसम्म बैंक पुगेका छैनन् ।
सबै नगरपालिकामा बैंकिङ पहुँचभित्र
धनकुटाका सबै नगरपालिकामा बैंक पुगिसकेका छन् । जिल्लाका तीन वटै नगरपालिका पाख्रीबास नगरपालिका, धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा बैंकहरुले आफ्नो शाखा विस्तार गरिसकेका छन् ।
दुई गाउँपालिकामा बैंक पुग्न बाँकी
जिल्लाका चार गाउँपालिकामध्ये, दुई वटा बैंकिङ पहुँच पुगेको छ भने दुई वटा पुग्न बाँकी रहेको छ । छथर जोरपाटी गाउँपालिका र चौबिसे गाउँपालिकामा बैंकहरुको शाखा संचालनमा आइसकेको भएतापनि साँगुरीगढी गाउँपालिका र खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा हालसम्म कुनै पनि बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् ।
एउटा स्थानीय तहमा छिटै बैंक पुग्दै
सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने योजना अनुरुप बैंकहरुले गरेको सहमतिमा धनगढीको एउटा स्थानीय तह मात्रै परेको छ । साँघुरीगढी गाउँपालिकामा नेपाल बंगालादेश बैंकले शाखा विस्तार गर्ने भएको छ । खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा भने हालसम्म कुनै बैंक पनि पुग्ने टुंगो लागेको छैन ।