Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक जिल्ले विकास बैंक र फाइनान्सलाई पुँजी बढाउन थप समय

२०७४ पुष १२ गते

रुपा कोइराला/बैंकिङ खबर । एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीहरुले पुँजीवृद्धिका लागि थप समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई तोकिएको चुक्तापुँजी पुर्याउन दुई वर्षको समय थप गरिदिएको छ । जसअनुसार, अब एक जिल्ले विकास बैंक र फाइनान्स कम्पनीले आगामी ०७६ साल पुष मसान्तसम्म तोकको पूँजी पुर्याउनु पर्नेछ ।

०७२ सालको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले एक जिल्ले विकास बैंकलाई ५० करोड तथा फाइनान्स कम्पनीले ४० करोड चुक्ता पुँजी ०७४ असार मसान्तभित्र पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । त्यसपश्चात ६ महिना समय थपेको राष्ट्र बैंकले अहिले दुई बर्ष समय थप गरिदिएको हो ।

साथै राष्ट्र बैंकले थपिदिएको समयमा पनि पूँजी बढाउन नसके यस्ता बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

एक जिल्ले विकास बैंक पाँच वटा
अहिले नेपालमा एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक पाँच वटा मात्रै रहेका छन् । काबेली विकास बैंकले धनकुटा जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको छ भने हाम्रो विकास बैंकले नुवाकोटलाई कार्यक्षेत्र बनाएको छ । त्यस्तै, माउन्ट मकालु डेभलपमेन्ट बैंक तेह्रथुममा, सहारा विकास बैंक सर्लाहीमा र सालपा विकास बैंक खोटाङमा रहेको छ । यसमध्ये, काबेली र माउन्ट मकालु एकआपसमा गाभिएर तीन जिल्ले बन्ने तरखरमा छन् । 

एक जिल्ले फाइनान्स एउटा मात्रै
एक जिल्ला कार्यक्षेत्र भएको फाइनान्स कम्पनी भने एउटा मात्रै रहेको छ । हालै सेती फाइनान्स सेञ्चुरी कमर्सियल बैंकमा विलय भएपछि एक जिल्ले फाइनान्स कम्पनीको रुपमा मल्टिपर्पोज फाइनान्स कम्पनी मात्रै रहेको हो । यो फाइनान्सले सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको छ । 

Ad