Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इलामका सात स्थानीय तहमा छैनन् बैंक

२०७४ पुष ७ गते

बैंकिङ खबर । प्रदेश नम्बर १ स्थित इलाम जिल्ला बैंकिङ पहुँचका हिसाबले पछाडि रहेको छ । यहाँका ७० प्रतिशत स्थानीय तहमा अहिलेसम्म बैंक पुग्न सकेका छैनन् । इलाममा कुल १० स्थानीय तह रहेका छन् । जसमध्ये, छ गाउँपालिका र चार नगरपालिका रहेका छन् । १० स्थानीय तहमध्ये, इलामका तीन स्थानीय तहमा मात्रै बैंकहरुले शाखा विस्तार गरेका छन् । बैंक शाखा भएका सबै स्थानीय तह नगरपालिका हुन् ।

एउटा नगरपालिका बैंकविहीन
कुल चार नगरपालिका भएको इलामको एउटा नगरपालिका बैंकविहीन छ । जिल्लाका इलाम नगरपालिका, देउमाई नगरपालिका र सूर्योदय नगरपालिकामा बैंकहरुले शाखा विस्तार गरिसकेको भएतापनि माइ नगरपालिकामा अहिलेसम्म कुनै पनि बैंकले शाखा विस्तार गरेका छैनन् ।

सबै गाउँपालिका बैंकिङ पहुँचबाहिर
इलामका छ वटै गाउँपालिका बैंकिङ पहुँचबाहिर रहेका छन् । फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माईजोगमाई गाउँपालिका, माङसेबुङ गाउँपालिका, रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामध्ये कुनैमा पनि हालसम्म बैंक पुगेका छैनन् । 

चार स्थानीय तहमा छिटै बैंक पुग्ने
हालसम्म बैंक नपुगेका इलामका चार स्थानीय तहमा छिटै नै चार वटा बैंकले शाखा विस्तार गर्ने भएका छन् । सन्दकपूर गाउँपालिकामा प्रभु बैंकले शाखा विस्तार गर्दैछ । चुलाचुली गाउँपालिकामा एनएमबि बैंक र माई नगरपालिकामा सानिमा बैंकले शाखा खोल्ने जनाएको छ । त्यस्तै, सिभिल बैंकले माईजोगमाई गाउँपालिकामा शाखा विस्तार गर्ने निर्णय गरेको छ । फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा भने अझै पनि बैंक पुग्ने टुंगो लागेको छैन ।

Ad