बैंकिङ खबर । वाणिज्य बैंक, विकास बैंक र लघुवित्तीय संस्थाहरु सँगसँगै यसपाली अधिकांश फाइनान्स कम्पनीहरुको खुद मुनाफा पनि घटेको छ । फाइनान्सहरुले प्रस्तुत गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको प्रगति विवरणमा अधिकांश कम्पनीहरुको मुनाफामा गिरावट आएको देखिएको हो । यसैबीच, आधा दर्जन फाइनान्स कम्पनीहरुको प्रथम त्रैमासिक रिपोर्ट यहाँ प्रस्तुत गरिन्छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ३३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गुहेश्वरी फाइनान्सले एक करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले जगेडाकोषमा २२ करोड ४० लाख रुपैयाँ राखेको छ । निक्षेपमा १६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी दुई अर्ब ५२ करोड ४० लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा २० दशमलव २२ प्रतिशतले वृद्धि गरी २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको खुद व्याज आम्दानी २१ दशमलव ७३ प्रतिशतले बढेर दुई करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा चार दशमलव ५४ प्रतिशतले घटेर दुई करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३१ लाख रुपैयाँ खराबकर्जा उठाएको फाइनान्सले प्रोभिजनमा २८ लाख रुपैयाँ राखेको छ । फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव २७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २७ दशमलव ९४ प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १२ दशमलव ९३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ४६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४५ दशमलव ४० रुपैयाँ र तरलता अनुपात २९ दशमलव ७७ प्रतिशत रहेको छ ।
गुडविल फाइनान्स लिमिटेड
गुडविल फाइनान्स लिमिटेडले पहिलो त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गुडविलले एक करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
निक्षेपमा २५ दशमलव ७८ प्रतिशतले वृद्धि गरी चार अर्ब ६६ करोड ८१ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा तीन अर्ब ९० करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १६ प्रतिशतले बढेर दुई करोड ९० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा छ सय २९ दशमलव ०९ प्रतिशतले बढेर एक करोड ८२ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा ३९ लाख रुपैयाँ राखेको फाइनान्सको निष्कृय कर्जा एक दशमलव २९ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १९ दशमलव २० प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक छ दशमलव ६५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २७ दशमलव ८२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ७५ प्रतिशत रहेको छ ।
अरुण फाइनान्स कम्पनी लिमिटेड
अरुण फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले मुनाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य प्रगति हासिल गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण १० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको अरुण फाइनान्सको जगेडाकोष १३ करोड २६ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेपमा सात करोड ६० लाख रुपैयाँ संकलन गरी कर्जामा ४ करोड ४८ लाख रुपैयाँ लगानी गरेको फाइनान्सको खुद व्याज आम्दानी २७ गुणाले बढेर दुई करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई करोड ४७ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको निष्कृय कर्जा ३१ दशमलव ८९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १८ दशमलव ०९ प्रतिशत, प्रतिसेयर आम्दानी १३ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ५६ गुणा, प्रतिसेयर नेटवर्थ ११ दशमलव ५८ रुपैयाँ र तरलता अनुपात ८ दशमलव ५६ प्रतिशत रहेको छ ।
पोखरा फाईनान्स लिमिटेड
पोखरा फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ लाख रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सले एक करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको खुद व्याज आम्दानी दुई करोड ७८ लाख रुपैयाँमा खुम्चिएको छ भने कर्मचारी खर्च बढेर चार करोड रुपैयाँ पुगेको छ । तीन अर्ब ८० करोड निक्षेप संकलन गरी तीन अर्ब ५३ करोड कर्जा परिचालन गरेको फाइनान्सको चुक्तापुँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ । पोखरा फाइनान्सको प्रतिेयर आम्दानी नौ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, फाइनान्सको खराब कर्जा एक दशमलव ३३ प्रतिशतमा झरेको छ ।
सेन्ट्रल फाइनान्स लिमिटेड
सेन्ट्रल फाइनान्स लिमिटेडले पहिलो त्रैमासमा २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४७ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेन्ट्रलले २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । निक्षेपमा दुई अर्ब ८७ करोड १२ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा दुई अर्ब ३५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर एक करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा २८ दशमलव ४४ प्रतिशतले घटेर ३३ लाख रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्सको प्रतिसेयर आम्दानी शुन्य दशमलव ४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४५५ दशमलव ६६ गुणा, प्रतिसेयर नेटवर्थ १४० दशमलव २९ रुपैयाँ, निष्कृय कर्जा एक दशमलव ८७ प्रतिशत र पूँजीकोष अनुपात २७ दशमलव १७ प्रतिशत रहेको छ ।
मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड
मल्टीपर्पस फाइनान्स कम्पनी (वित्तीय संस्था) लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ दशमलव ८८ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टिपर्पोजले ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । निक्षेपमा १८ करोड ५८ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा १९ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ७२ दशमलव ९० प्रतिशतले घटेर २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८० दशमलव ६९ प्रतिशतले घटेर आठ लाख रुपैयाँ पुगेको छ । कम्पनीको निष्कृय कर्जा ३.८० प्रतिशत रहेको छ ।


