Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १३ स्थानीय तहमा बैंक शाखा

२०७४ कार्तिक १९ गते

ममता थापा । नेपाल राष्ट्र बैङ्कले स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा विस्तार गर्न निर्देशन दिएपछि हालसम्म थप १३ स्थानमा बैङ्कको शाखा सञ्चालनमा आएको छ ।

देश सङ्घीय संरचनामा गई स्थानीय सरकारमार्फत काम हुने भएकाले सबै ७ सय ५३ स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैङ्कको शाखा अनिवार्य हुनुपर्ने भएपछि ती स्थानमा क्रमशः शाखा सञ्चालनमा आउन थालेका हुन् । ती स्थानीय तहमध्ये २ सय ९७ मा वाणिज्य बैङ्कको शाखा पहिलेदेखि नै सञ्चालनमा थियो । बाँकी ४ सय ५६ स्थानमध्ये ३ सय ३ स्थानमा शाखा विस्तार गर्ने योजना विभिन्न वाणिज्य बैङ्कले असोज मसान्तसम्ममा केन्द्रीय बैङ्कसामु प्रस्तुत गरेका छन् ।

सोही प्रस्तावअनुसार १३ स्थानमा वाणिज्य बैङ्कको शाखा विस्तार भएको हो । १ सय ५३ स्थानमा भने कसैले पनि शाखा विस्तार गर्न प्रस्ताव गरेका छैनन् ।

शाखा विस्तार गर्नुपर्ने स्थानीय तहमा ४९ ओटा नगरपालिका छन् । तीमध्ये ४८ ओटामा शाखा खोल्न बैङ्कहरूले प्रस्ताव पेश गरेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ  । यसबाहेक शाखा विस्तार गर्नुपर्ने अरू सबै स्थानीय तह गाउँपालिका हुन् । शाखा विस्तारका लागि प्रस्तावित स्थानीय तहहरूमा बैङ्कहरूले शाखा विस्तार गर्न सक्ने वा नसक्ने भन्ने द्विविधाका कारण शाखा विस्तारको तथ्याङ्क घटबढ भइरहेको केन्द्रीय बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

हालसम्म धादिङको थाँक्रे गाउँपालिकामा प्रभु बैङ्कको र मकवानपुरको मनहरीमा सिटिजन्स बैङ्कको शाखा सञ्चालनमा आएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा जनता बैङ्कको, कैलालीको गौरीगङ्गा नगरपालिकामा एनएमबी बैङ्कको र जोशीपुर गाउँपालिकामा एनआईसी एशिया बैङ्कको शाखा स्थापना भइसकेका छन् । यीबाहेक अन्य आठ स्थानीय तहमा पनि विभिन्न बैङ्कको शाखा कार्यालयमार्फत बैङ्किङ सेवा सञ्चालनमा आइसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

शाखा विस्तारका लागि गरिएका प्रस्तावित स्थानहरूमा दुर्गम क्षेत्रका स्थानीय तह भने खासै परेका छैनन् । नेपाल राष्ट्र बैङ्कमा वाणिज्य बैङ्कहरूले बुझाएको आफूले खोल्ने शाखाको सूचीमा दुर्गम स्थानहरू देखिँदैनन् । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार प्यूठानमा वाणिज्य बैङ्कको शाखा नभएको ६ स्थानमध्ये गौमुखी गाउँपालिकामा मात्र शाखा खोल्न एसबीआई बैङ्कले चासो देखाएको छ ।

यसैगरी रुकुममा बाँकी ६ स्थानीय तहमध्ये ३ मा र रोल्पाका ७ स्थानीय तहमध्ये ३ मा मात्र शाखा विस्तार गर्न चासो देखाइएको छ । यस्तै कालिकोटका ८ मध्ये २ तहमा मात्र शाखा विस्तारको प्रस्ताव पेश गरिएको छ ।

हुम्ला, जाजरकोट, दैलेख, बाजुरालगायत जिल्लाका स्थानीय तहमा पनि शाखा विस्तारमा बैङ्कको रुचि अत्यन्त कम देखिएको छ । ती स्थानमा बैङ्किङ पूर्वाधारको अभाव भएकाले शाखा विस्तार गर्न गाह्रो हुने बैङ्करहरूको भनाइ छ ।   

नेपाल बैङ्कर्स सङ्घका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले कुन बैङ्कले कुन स्थानीय तहमा शाखा खोल्ने भन्ने विवरण सम्बन्धित बैङ्कको आवश्यकता तथा इच्छाअनुसार पठाइएको बताए । उनका अनुसार दुर्गम क्षेत्रमा इण्टरनेटको पहुँचलगायतको समस्याका कारण शाखा खोेल्न कम चासो देखिएको हो । शाखा विस्तारका लागि स्ट्याण्डर्ड चार्टर्डबाहेकका २७ ओटा वाणिज्य बैङ्कले विवरण पठाएका छन् । विदेशी लगानीमा खोलिएको बैङ्क भएकाले अरू वाणिज्य बैङ्कलाई जस्तो स्ट्याण्डर्ड चार्टर्ड शाखा खोल्न बाध्य छैन । स्थानीय तहमा शाखा विस्तारको काम करीब ६ महीनाभित्र हुने केन्द्रीय बैङ्कले बताएको छ ।

विकास निर्माणलगायत प्रत्येक क्रियाकलापको बजेट सोझै स्थानीय तहमा पुग्ने भएकाले वाणिज्य बैङ्कको पहुँच र्पुयाउन केन्द्रीय बैङ्कले शाखा विस्तारमा जोड दिँदै आएको हो । प्रत्येक आर्थिक वर्षमा घोषणा गरिने बजेटलाई स्थानीय तहमा र्पुयाउन र स्थानीय तहबाट उठ्ने कर, राजस्वलगायत विभिन्न स्रोतबाट आम्दानी हुने सरकारी आयव्ययको कारोबार गर्न बैङ्क अत्यावश्यक परेकाले सरकारले नै वित्तीय कारोबारका लागि स्थानीय तहमा पहुँच र्पुयाउन पहल गरिएको हो ।आर्थिक अभियानमा प्रकाशित समाचार