ममता थापा / पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाका सफ्टवेयरहरूमा ह्याकजस्ता साइबर अपराध बढ्न थालेपछि त्यस्तो अपराध हुन नदिन बीमा समितिले सतर्कता अपनाउन छलफल थालेको छ । एनआईसी एशिया बैङ्कले अन्तरराष्ट्रिय बैङ्कसँग कारोबार गर्दा प्रयोग हुने स्वीफ्ट प्रणाली ह्याक भई उक्त बैङ्कको करोडौं रकम हराएको घटना सार्वजनिक भएसँगै बीमा समितिले यसतर्फ छलफल थालेको हो । समितिले साइबर सुरक्षा सतर्कताका लागि सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेपछि निर्देशिका तयार गर्ने बताएको छ ।
बीमाक्षेत्रमा पनि त्यस्तो अवस्था आउनसक्ने भएकाले समितिले बिहीवार सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागितामा सतर्कताको लागि छलफल कार्यक्रम गरेको हो । एनआईसी एशिया बैङ्कमा भएको स्वीफ्ट ह्याक (अन्तरराष्ट्रिय कारोबार गर्ने एक बैङ्कबाट अर्कोमा रकम स्थानान्तरण गर्ने विद्युतीय प्रणाली वा सफ्टवेयर चोरी) भएपछि नेपाल राष्ट्र बैङ्कले पनि पटकपटक बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सूचना अधिकारीसँग सावधानी अपनाउन छलफल गरेको थियो ।
‘साइबर सुरक्षा सतर्कता’ विषयक पहिलो चरणको उक्त छलफलमा समितिका तर्फबाट सूचनाप्रविधि (आईटी) इञ्जिनीयर धु्रव ज्ञवालीले कार्यपत्र प्रस्तुत गरे । ज्ञवालीले बीमा कम्पनीहरूले प्रयोग गर्ने सप्mटवेयरमा काम गर्न कुनै व्यक्तिलाई राख्नुअघि उसको विगतको पृष्ठभूमि बुझेर विश्वास गर्नलायक भएमात्र राख्न अनुरोध गरे । उनले त्यस्तो व्यक्ति दक्षसमेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक पूर्ण थापाका अनुसार कार्यपत्रमा ‘बीमा कम्पनीले वर्ड, एक्सललगायत सफ्टवेयर प्रयोग गर्दा सक्कली प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । सुझावमा हरेक कम्पनीले आफूले गरेको कारोबारको ‘ब्याकअप’ राम्रोसँग राख्नुपर्ने पनि औंल्याइएको छ । सो प्रयोजनका लागि कम्पनीले केन्द्रीय कार्यालयबाहेक जिल्लामा समेत त्यस्ता ब्याकअपका तथ्याङ्क पठाउने र अफलाइनमा राख्दा सुरक्षित हुने सल्लाह दिइएको छ ।
समितिले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग भएको उक्त छलफलपछि दोस्रोे चरणमा कम्पनीका सूचना प्रविधि अधिकारीसँग छलफल गर्ने बताएको छ ।
सरोकारवालासँगको छलफलपछि बीमा कम्पनी र समितिका प्रतिनिधिको एक समूहले निर्देशिकाका लागि आवश्यक मापदण्ड बनाउने बताइएको छ । त्यसबाहेक आवश्यक परेमा र बजारबाट माग आएमा समितिले ‘साइबर इन्स्योरेन्स बीमालेख’ जारी गर्नसक्ने समितिको भनाइ छ ।
नेपाल पुनर्बीमा कम्पनीका सीईओ चिरायु भण्डारीले अभियान संवाददातासँग भने, ‘एनआईसी एशियामा भएको यस्तो प्रकारको साइबर अपराधबाट जोखीम वहन हस्तान्तरण गर्न साइबर इन्स्योरेन्स ल्याउनु जरुरी छ । यस्तो पोलिसी नेपालमा छैन । एनआईसीमा करोडौंको ट्राञ्जेक्शनमा ह्याक हुँदा रकम फिर्ता नआएको भए जोखीम बेहोर्नुपर्थ्यो ।’ अभियान दैनिकमा प्रकाशित समाचार




