October 30th, 2017

पुँजी बजार पनि साइबर सुरक्षा जोखिममा

अघिल्लो साता वाणिज्य बैंकहरूमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि कमजोर पूर्वाधारका कारण यस्तो समस्याको सम्भावना देखिएको उनीहरूको भनाइ छ । 

सेयर बजारलाइ पूर्ण रूपमा स्वचालित बनाउन हाल अनलाइन ट्रेडिङको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । सेयर बजारमा पैसाका प्रत्यक्षे कारोबार नभए पनि साइबर सेक्युरिटी भने कमजोर हुँदा ह्याकरले दुख दिनसक्ने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । उनले बैंकिङ क्षेत्रमा भएको साइबर अपराधलाइ हेर्दा सेयर बजार पनि जोखिम बढेको बताए ।

“नोक्सानी नै गर्न नसके पनि सिस्टममा समस्या सिर्जना गरी कारोबार गर्नबाट बञ्चित गराउन सक्नेसम्मका समस्या हुन सक्छन्,” भट्टराइले भने, “त्यसका विषयमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) र धितोपत्र बोर्डले अहिले नै सोच्नु जरुरी छ ।” नियामक निकायहरूको पहलमा अनलाइन डाटाबेसलाई सुरक्षित बनाउन छुट्टै नियामक निकाय स्थापना गर्नु जरुरी भएको उनको तर्क छ । बैंकिङ सिस्टममा भएको अन्तराष्ट्रिय लेभलको ह्याक सेयर बजारमा हुनसक्ने भएकाले छिटोभन्दा छिटो सुरक्षाका उपायहरू अबलम्बन गर्नु जरुरी रहेको उनले बताए ।

नेप्सेले पुँजी बजारलाई पूर्ण रूपमा स्वचालित बनाउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । सेयर बजारलाई आइटीमैत्री बनाउने क्रममा सुरक्षाका दृष्टिलाई पनि धेरै महत्वका साथ हेरिएको उनले बताए ।

“नेप्सेले ल्याउन लागेको अनलाइन प्रणालीमा तीन चरणमा सुरक्षासम्बन्धी होसियारी अपनाइएको छ,” साउदले भने, “नेप्सेको अनलाइन प्रणालीमा सर्भर, नेटवर्क र युजरलेभलमा सुरक्षासम्बन्धी विशेष ध्यान दिएर बनाइएको छ ।” नेप्सेको अनलाइन कारोबार प्रणालीमा पर्याप्त रूपमा सुरक्षाका उपायहरू पनि अपनाइएको हुनाले जोखिम नभएको उनको दाबी छ ।  

तर, नेपाल विकासशील देश भएकाले पूर्वाधारहरू कमजोर भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की स्वीकार्छन् । सेयर बजारमा मात्र नभइ वित्तीय क्षेत्रमा भएको साइबर क्राइमको जोखिमसँग सिंगो मुलुक नै होसियार हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । “बैंकिङ क्षेत्रमा देखिएजस्ता समस्या सेयर बजारमा नआउन् भनेर नै अन्तर्राष्ट्रियस्तरको परिक्षण गरेको सफ्टवेयर चाहिन्छ भनेर बोर्डले बारम्बार भन्दै आएको हो,” कार्कीले भने ।

नेपाल धितोपत्र बोर्ड आईएसओको सदस्य भइसकेको हुनाले पनि यस्ता जाखिम न्यूनीकरणका लागि आईएसकोको मापदण्डअनुसार पूर्वाधार तयार गर्नुपर्ने कार्कीको भनाइ छ । “त्यसका ला आजको भोली नै भन्दा पनि होसियारी अपनाएर समयसापेक्ष भएर अघि बढ्नुपर्छ,” कार्कीले भने ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा भएको साइबर क्राइमले समग्र आइटीमा आधारित  संस्थाहरूलाई पूर्वाधार सुरक्षीत बनाउन आवश्यक रहेको जानकारहरू बनाउँछन् । सेयर बजारमा वैदेशिक लगानी भिœयाउने तथा गैरआवसीय लगानीकर्ता प्रवेश गराउनका लागि पनि हालको सेयर बजार साइबर क्राइमको दृष्टिबाट सुरक्षीत हुनु जरुरी रहेको विज्ञहरुको भनाइ छ ।  कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]