October 26th, 2017

अधिकांश एशियाली मुद्रा कमजोर

बुधवार अधिकांश एशियाली मुद्रा कमजोर बनेका छन् । जोन टेलर अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’का नयाँ अध्यक्ष बन्न सक्ने समाचारले डलरको भाउ बढ्दा एशियाली मुद्रा दबाबमा आएका हुन् । १० वर्षे अमेरिकी ट्रेजरी बिलको प्रतिफलमा भएको वृद्धिले पनि डलर सबल बनेको हो । उता, डलरको तुलनामा फिलिपिनी पेसो भने ११ वर्षकै न्यून स्तरमा आएको थियो । बुधवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक शून्य दशमलव २५ प्रतिशतसम्म बढेर ९४ दशमलव शून्य शून्य ८ अङ्कमा आएको थियो ।

अमेरिकी राष्ट्रपतिले स्ट्यान्फोर्ड युनिभर्सिटीका अर्थशास्त्री जोन टेलर वा विद्यमान फेड गभर्नर जेरोम पावेलमध्ये कसलाई फेड अध्यक्ष बनाउने भन्नेबारे रिपब्लिकन सिनेटरहरूको धारणा जान्न दिवाभोजको आयोजना गरेका थिए । उक्त कार्यक्रममा अधिकांश सिनेटरले उक्त कार्यका लागि टेलरलाई रोजेको यस मामिलाबारे जानकार स्रोतले रोयटर्सलाई बताएको छ । टेलरले फेडलाई तीव्र ब्याजदर वृद्धिको मार्गमा लैजाने अपेक्षा छ । टेलर फेड अध्यक्ष बन्ने अपेक्षा बढेसँगै पछिल्लो समय डलरको भाउ बढिरहेको छ ।

बुधवारको कारोबारमा एशियाली मुद्रामध्ये पेसोको भाउमा सबैभन्दा तीव्र कमी आएको थियो । उक्त दिनको कारोबारमा यो शून्य दशमलव ४३ प्रतिशतसम्म कमजोर बन्दै प्रतिडलर ५१ दशमलव ७६ मा आएको थियो । यो सन् २००६ को जुलाईयताकै न्यून हो । पछिल्लो समय फेड अध्यक्ष को बन्ला भन्ने स्पष्ट हुन थालेको र ट्रम्पको कर सुधारका प्याकेज पारित हुने अपेक्षामा डलरको तुलनामा पेसोको भाउ घटिरहेको मनिलास्थित ‘बैङ्क अफ दि फिलिपिन्स आइल्याण्ड्ज’का अर्थशास्त्री इमिलियो नेरी जुनियरले बताए ।

उक्त दिनको कारोबारमा इण्डोनेशियाली रुपियाको भाउ शून्य दशमलव ३ प्रतिशतले घटेर ३ हप्ताकै न्यून विन्दुमा आएको थियो । उता, दक्षिण कोरियाली वनको भाउ पनि डलरको तुलनामा शून्य दशमलव ३ प्रतिशतले घटेको थियो । एशिया क्षेत्रका अधिकांश मुद्रा कमजोर बने पनि बुधवार सिङ्गापुर डलरको भाउ भने बढेको थियो । सेप्टेम्बरमा सिङ्गापुरको औद्योगिक उत्पादन बढ्ने अपेक्षाले उक्त दिन सिङ्गापुर डलरको भाउ बढेको बताइएको छ ।

उता, बुधवारको कारोबारमा डलरको तुलनामा चिनियाँ युआन कमजोर बनेको थियो । उक्त दिन प्रतिडलर युआनको भाउ शून्य दशमलव १८ प्रतिशतले घट्तै ६ दशमलव ६४५ मा आएको थियो । भारतीय रुपया भने डलरको तुलनामा १९ पैसाले बढेर ६४ रुपया ८८ पैसामा पुगेको थियो । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]