Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तले ल्याएको समृद्धि

२०७४ आश्विन १७ गते
सेयर:

म्याङलुङ्ग जिल्लामा २०५९ सालमा भएको भीषण आगलागीमा परी शुभद्रा राजभण्डारीको ढाका व्यवसाय पूर्णरुपमा नष्ट भयो । कडा मेहनत र संघर्ष गरी स्थापित गरेको व्यवसाय पुनः शुन्यको स्थितिमा पुग्दा उनलाई मानसिक तनाव हुनु स्वभाविक थियो । उनले हिम्मतका साथ पुनः व्यवसायलाई निरन्तरता दिने निर्णय गरिन् । तर पूँजीको अभावका कारण निर्णयलाई व्यवहारिक रुप दिन असमर्थ थिइन् ।

दुःखको बेला साहुमहाजनले ऋण, कर्जा समेत नदिईरहेको अवस्थामा २०६३ सालमा म्याङलङ्गमा स्वावलम्बन लघुवित्त विकास बैंक लि.को शाखा कार्यालय स्थापना भई सामुहिक जमानीमा विना धितो कर्जा दिने सुने पछि यस बारेमा थप जानकारी लिइन् । आफ्नै समाजमा चिनजानका साहुमहाजन तथा बैंकले समेत सामान धरौटी तथा जमिन धितो नराखी ऋण नदिईरहेको अवस्थामा समुह बनाई विना धितो ऋण दिने बैंक आएको सुन्दा शुरुमा त विश्वासै नलागेको कुरा उनी बताउँछिन् । 

विस्तारै स्वावलम्बनको बारेमा बुझ्दै जाँदा उनका लागि व्यवसाय गर्न सहयोग पुर्याउने साथी नै रहेको थाहा पाए पछि समूहमा आवद्ध भई कर्जा लिई व्यवसायमा पूँजी वृद्घि गर्दै लैजाने सोच बनाइन् । सोहीअनुरुप २०६३ सालमा पहिलोपटक आठ हजार रुपैयाँ कर्जा लिई पुनः ढाका व्यवसाय गर्न थालिन् । विस्तारै आम्दानी बढ्दै गयो । फलस्वरुप, दुई वटा तानबाट शुरु भएको घरेलु उद्योग १० वटा तानमा परिणत भयो । साथसाथै पसलले पनि पुँजी वृद्धिमा थप गति लिँदै गयो ।

भनिन्छ, ऋण लागोस् तर दिन नलागोस् । शुभद्रा राजभण्डारीको जीवनमा यी दुवै कुरा लागेको छ । आफ्नो रातदिनको मेहनत, संघर्ष र व्यवसायप्रतिको मोहले यो अवस्थासम्म आईपुगेको संरचनामा पुनः दोस्रो पटक २०७० साल असोज महिनामा म्याङलङ्गमा भीषण आगलागी भयो । जसबाट उनले करिब डेढ लाख बराबरको क्षति व्यहोर्नुपर्यो । सहनुको पनि हद हुन्छ । अब पसल नष्ट भए पश्चात उनको निरन्तर मेहनतबाट आर्जित १० वटा तानको उद्योग मात्र बाँकी रहेको थियो । व्यवसाय पुनः सुचारु गर्ने सिलसिलामा २०७० पौष महिनामा स्वावलम्बन लघुवित्त विकास बैंक लि. बाट डेढ लाख रुपैयाँ कर्जा लिईन् र अन्य आर्थिक स्रोतहरु जुटाई व्यवसायलाई निरन्तरता दिईन् । त्यसै क्रममा थप पुँजीको रुपमा २०७० चैत्रमा तीस हजार रुपैयाँ मौसमी कर्जा लिई व्यवसायलाई थप गतिशील बनाउँदै लगिन् र पुनः पुँजी तथा व्यवसाय बृद्घिको क्रममा निरन्तर लागिपरिन् ।

कर्मशील हातहरुलाई कर्म गर्नका लागि संसार आकाश झैं खुल्ला हुन्छ भनिन्छ । दुवै दम्पतीमा उत्तिकै मेहनत गर्ने जोश, लगनशीलता तथा एक आपसी समझदारी र सहयोग भएकै कारण उनको यो व्यवसाय निरन्तर प्रगतीमा रहेको देखिन्छ । दुवैजना व्यवसायमा व्यस्त हुँदाहुँदै पनि अतिरिक्त आम्दानीको बाटो समेत पहिल्याएको पाईन्छ । ढाका व्यवसायको साथसाथै सात वटा खसी बाख्रा र छ वटा बंगुर समेत पालन गरी उनीहरुले अन्यलाई समेत मेहनत र कर्मको पाठ सिकाइरहेका छन् । एक छोरा र एक छोरीसहित चार जनाको सानो र सुखी परिवार भएको दम्पतिले छोरालाई ९ कक्षा र छोरीलाई ८ कक्षामा बोर्डिङ्ग स्कुलको शिक्षा प्रदान गरिरहेका छन् । हाल उनीहरुसँग ४ आना घडेरी छ, जसको हालको मूल्य अनुमानित १० देखि १२ लाख रुपैयाँसम्म हुन्छ ।

उनीहरुले आजको दिनमा आएर म्याङलुङ्ग बजारमा १० वटा तानमार्फत १० जना र गाउँमा ६ वटा तान मार्फत ६ जनालाई गरी जम्मा १६ जनालाई प्रत्यक्ष रोजगारी समेत दिईरहेका छन् । साथै अन्य तानबाट उत्पादित ढाका कपडाहरु खरिद गरी अप्रत्यक्ष रुपमा धेरैजनालाई रोजगारीको अवसर सृजना गरेको देखिन्छ । 

सानो पुँजीबाट सुरुवात भएको उनको व्यवसायमा हाल ढाका पसलमा सात लाख रुपैयाँ र ढाका तानमा डेढ लाख रुपैयाँ गरी लगभग साढे आठ लाख रुपैयाँ पुँजी संरचना भइसकेको छ । ‘स्वावलम्बन जुनबेला आयो, त्यसबेला आफुलाई साहु महाजनले विश्वास नगर्ने अवस्था थियो, साच्चै नै स्वावलम्बन बैंक आफ्नो जीवनको सहाराको रुपमा आएको छ । म एकदमै हर्षिक छु,’ शुभद्राले भनिन् । हाल उनी शाखा कार्यालय, म्याङलङ्गको केन्द्र नं. ६ की सदस्य हुन् ।