नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको प्रत्यक्ष असर विकास बैंकहरुलाई परेको छ । राष्ट्र बैंकको पूँजी वृद्धिको योजनासँगै ८६ वटा संख्यामा रहेका विकास बैंकहरु अहिले ३५ वटामा सीमित भएका छन् र यस्ता संस्थाको संख्या घट्दो क्रममा छ । आजभन्दा ६ महिनाअघिसम्म पनि ५३ वटाको संख्यामा रहेका विकास बैंकहरु पछिल्लो समय मर्जर तथा एक्विजिशनका कारण ३५ वटामा सिमित भएका छन् ।
कति चाहिन्छ चुक्ता पूँजी ?
नेपाल राष्ट्र बैंकको नियम अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले एक अर्ब २० करोड रुपैयाँ, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका क्षेत्रीयस्तरका विकास बैंकहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।
अझै घट्दै विकास बैंकको संख्या
मर्जर/एक्विजिशन अघि ८६ वटा रहेका विकास बैंक अहिले ३५ वटामा झरेका छन् । हाल ३६ वटामा झरेका विकास बैंक पनि यथावत भने रहँदैनन् । राष्ट्रिय स्तरको टुरिजम डेभलपमेन्ट बैंक क वर्गको मेगा बैंकमा विलय हुने प्रक्रियामा छ । उता एक जिल्ला कार्यक्षेत्र रहेका काबेली विकास बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंक पनि एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । जसपश्चात्, विकास बैंकहरुको संख्या दुई दर्जनमा सीमित हुने देखिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ख वर्गको मान्यता पाएका विकास बैंकहरु पनि चार तहका छन् । जसअनुसार राष्ट्रिय स्तरका विकास बैंक, १० जिल्ले विकास बैंक, तीन जिल्ले विकास बैंक र एक जिल्ले विकास बैंकहरु रहेका छन् । हाल राष्ट्रिय स्तरका विकास बैंकहरु १२ वटा छन् । १० जिल्ला कार्यक्षेत्र भएकोमा एउटा शाइन रेसुंगा डेभलपमेन्ट बैंक मात्रै बाँकी रहेको छ । तीन जिल्ले विकास बैंकहरु १८ वटा छन् भने एक जिल्लेमा चार वटा मात्रै बाँकी छन् ।