साउन महिनाको अन्तिम साता तराई क्षेत्रमा आएको बाढीबाट प्रभावितहरुलाई विभिन्न बैंकहरुले राहत वितरण गरेका छन् । कुनै बैंकले नगद सहयोग गरेका छन् भने कुनैले पीडितका लागि आवश्यक लत्ताकपडा, खनद्यान्न लगायतका राहत सामग्री वितरण गरेका छन् । हेरौँ, कुन कुन बैंक तथा वित्तीय संस्थाले बाढीपीडितका लागि के सहयोग गरे ?
प्रभु ग्रुप
प्रभु ग्रुपले बाढीप्रभावित क्षेत्रमा राहत वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर संचालन गरी निशुल्क औषधि वितरण गरेको छ । प्रभु ग्रुपले बाढीप्रभावित जिल्ला सप्तरीको रुपनी गाउँपालीकामा राहत वितरण तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने तथा बाढी प्रकोपबाट विभिन्न रोगहरु लाग्ने खतरा रहेकाले त्यस्तो खतराबाट बच्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको आयोजक प्रभु ग्रुपले जनाएको छ । स्वास्थ्य शिविरमा जनरल फिजिशियनद्वय डा. सुवास श्रेष्ठ र डा. सजनी डंगोल, नर्सहरु सुनिती राउत र संगिता कार्की साथै फार्मेसी एसिस्टेन्ट सुरुची राउत खटेका थिए ।
राष्ट्रिय वाणिज्य बैंक
देशको विभिन्न भेगमा आएको प्राकृतिक प्रकोप(बाढि–पहिरो)बाट मोरङ्ग जिल्लाको पिडित समुदायमा तत्काल राहत पुर्याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले एक लाख एक हजार एक सय एघार रुपैंया राहत रकम हस्तान्तरण गरेको छ । संघले पेशागत महासंघ नेपालको आव्हानमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल) मार्फत उक्त रकम सहयोग गरेको हो । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावतीले बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल)का राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदीलाई एक समारोहका बीच बुधबार चेक हस्तान्तरण गरे ।
आईएमई फाउन्डेसन
साउनको अन्तिम साता आएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले राहत वितरण गरेको छ । बाढीपहिरोले पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायीक साझेदारहरुले स्थानीय दैवी प्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढीका पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले एघार लाख रुपैयाँको र्आिर्थक सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि यस बैंकमा ००१०००२५६२ऋब् खाता खोली सकेको बताउँदै बैंकका कर्मचारीहरु, सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक लिमिटडेको वीरगञ्ज शाखाले बाढी प्रभावित १०५ घरधुरीमा राहत वितरण गरेको छ । बैंकको एक टोलिले शनिबार पर्सा जिल्ला जगरनाथपुर गाउपालिका स्थित मधुवाह गा.वि.स. का बाढीप्रभावित बस्तीका १०५ घरधुरीमा प्राकृतिक प्रकोपबाट हुन सक्ने डेंगु जस्ता घातक रोग र सर्पहरुको बिगबिगीबाट सुरक्षित रहनको निम्ति राहत वितरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर उक्त राहत वितरण गरेको जनाएको छ । मुक्तिनाथ विकास बैंकको धादिङवेशी शाखाबाट पनि बाढीपीडितका लागि राहत रकम वितरण गरिएको छ । आदमघाट, गल्छी र धार्केका कर्मचारी र सुगमटोल युवाहरुको सहकार्यमा मुक्तिनाथले तराईको बाढीपिडित बासिन्दालाई २७ हजार चार सय ६० रुपैयाँ बराबरको खाद्यान्न र त्रिपाल वितरण गरेको हो ।
ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंक लिमिटेडले देशमा बाढी पीडितहरुलाई सहयोगार्थ पोखरा लेखनाथ महानगरपालिकासंग सहकार्य गरी बाढी पीडित राहत कोष स्थापना गरेको छ । बैंकले आफ्नो तर्फबाट एक लाख ५० हजार रुपैयाँ खातामा जम्मा गरी पोखरामा राहत कोष सञ्चालनमा ल्याएको हो । त्यसैगरी बैंकले चितवनमा पनि अर्काे एक लाख ५० हजार रुपैयाँ रकम जम्मा गरी राहत कोष खाता सञ्चालनमा ल्याएको छ । बाढी पीडितहरुलाई सहयोग गर्न इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुले ओम डेभलपमेन्ट बैंक लि.को पोखरा र नारायगढमा खोलिएको राहत कोष खातामा सहयोग रकम गर्न सक्नेछन् । अहिले बैंकको तर्फबाट २ वटा खाताहरुमार्फत ३ लाख सहयोग गरिएको र बैंकका सञ्चालक समिति सदस्य, संस्थापक, ग्राहकहरु तथा कर्मचारीहरुबाट समेत यथाशक्य सहयोगको लागि आग्रह गरि सहयोग गरिने बैंकका प्रमुख कार्यकारी अधिकारी बिश्व मोहन अधिकारीले जानकारी दिए । साथमा देशबासीलाई परेको बिपत्तिमा सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
भार्गव विकास बैंक
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेडले बाढीपिडीत महिला तथा बालबालिकालाई सहयोग गरेको छ । आफनो ११ औं बार्षिकोत्सवको अवसर पारेर बैंकले बाढीबाट प्रभावित बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नंं २ का करीब १२० जना सुत्केरी महिला तथा बालबालिकालाई दैनिक आवश्यक पर्ने पोषणयुक्त खानेकुरा, लत्ताकपडा, तथा ओछ्याउने, ओढने लगायतका विविध सामाग्रीहरु वितरण गरेको हो । गाउँपालिकाको समन्वयमा भार्गव विकास बैंक र विशाल ग्रुप फाउण्डेशनको संयुक्त आर्थिक सहयोगमा उक्त सामान वितरण गरिएको बताइएको छ ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक
बाढी, पहिरोवाट पिडीतहरुलाई राहत स्वरुप नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड वुटवलले दुई लाख २३ हजार रुपैयाँको सहयोग प्रदान गरेको छ । बैंकको तर्फबाट एक लाख ५० हजार रुपैयाँ, कर्मचारीहरुको एक दिन बराबरको तलब भत्ताबाट ५१ हजार रुपैयाँ र बैंकका संचालकहरुको तर्फबाट २२ हजार रुपैयाँ गरी संकलित उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सिधै जम्मा हुने गरी बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेले रुपन्देही जिल्ला प्रशासन कार्यालय, भैरहवामा पुगि सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गरे । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बाढी पिडीतहरुका लागि उक्त सहयोग गरिएको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।
स्वावलम्बन लघुवित्त विकास बैंक
स्वावलम्बन लघुवित्त विकास बैंक लि.ले २०७४ श्रावण २८ गतेको भिषण बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित ८ जिल्ला मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी रु.१३ लाख २० हजार २ सय रुपैया बराबरको राहत वितरण गरेको बैंकले जानकारी दिएको छ । त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तरगतको नियमानुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बुटवल–६, पाखापानी, रुपन्देहीका वाढीपिडित ५ घरपरिवारलाई एक कार्यक्रमको आयोजना गरी राहत स्वरुप खाधान्न वितरण गरेको छ । साथै बैंकको कार्यक्षेत्र भएको पर्साको ठोरी, बाँकेको शम्शेरगँज, बर्दियाको ककौरा र कैलालीको टिकापुरमा समेत बाढीबाट क्षति पुगेका घरपरिवारलाई आफ्नो शाखामार्फत राहत वितरण गर्ने कार्य समेत भईरहेको बैंकका कार्यकारी प्रमुख श्रीराम पोख्रेलले जानकारी गराए ।
नागवेली लघुवित्त विकास बैंक
नागवेली लघुवित्त विकास बैंक लिमिटेडले बाढीपीडित सदस्यहरुलाई राहत वितरण गरेको छ । नागवेलीले बिर्तामोडका बाढी पिडित सदस्यहरुलाई राहात बितरण गरेको हो । बाढीपीडित सदस्यहरुका लागि राहत वितरण गर्न नागवेलीले यस बर्ष २० लाख रुपैयाँको बजेट छुट्याएको जनाएको छ । नागवेली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोका अनुसार सदस्यहरुको क्षतीकाको विवरण पूर्ण रुपमा आईसकेपछि क्षतिलाई बर्गीकरण गरी नगद रकम संस्थाले उपलब्ध गराउनेछ । पहिलो चरणमा सस्थाको मोरङ्ग र झापाका शाखा कार्यालय कर्सिया, भौडाहा, गोविन्दपुर, फूलवारी र बनियानी अन्र्तगत रहेका बाढी पिडित ४ सय ९९ सदस्यहरुलाई चामल, दाल, नुन, तेल, साबुन, चिउरा, भुजा, भुजिया, चना, निउटेला सहितको खाद्यन्न राहात प्याकेज बितरण गरिसकेको र वितरण गर्ने कार्य अझै जारी रहेको प्रमुख कार्यकारी अधिकृत याक्सोले बताए ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बालग्राम सुनसरी, टंकिसिनुवारी मोरङ्ग तथा बैजनाथपुर मोरङ्गमा आबद्घ सदस्यहरुमध्ये २०७४ श्रावण २८ गते आएको भिषण बाढीको चपेटामा परी पुर्णरुपमा बिस्थापित २१० घर परिवारलाई भाद्र ५ र ६ गते राहत वितरण गरिएको हो । राहतस्वरुप प्रति परिवार १० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, २ किलो नुन, नुहाउने तथा लुगाधुने साबुन, १ किलो सर्फका दरले वितरण गरेको वित्तीय संस्थाका अनुगमन अधिकृत प्रवेश अर्यालले जानकारी दिए । यसका साथै बाढीका कारण आवास तथा ब्यबसायिक परियोजना पुर्ण रुपमा नष्ट भएका ग्राहक सदस्यहरुको क्षतिको विवरण संकलन पश्चात थप राहतका कार्यक्रमहरु सञ्चालन गर्ने अनुगमन अधिकृत अर्यालले बताए ।
फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक
फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले बाढीपीडितहरुका लागि राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । बैंकले नेपालभर तथा विशेषत तराईका जिल्लामा परेको भिषण बर्षाका कारण आएको बाढीमा परी परिवार गुमाएका एवम् घरवारविहीन भएका घरपरिवारका लागि राहत स्वरुप उक्त रकम प्रदान गरेको जानकारी दिएको छ ।
रिया आईएमई
मलेसियास्थित रिया आइएमईले बाढीपीडितका लागि सहयोग स्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दुतावासमा भेटि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
(बैंकिङ खबर डट कमको इमेलमा प्राप्त समाचारहरुको आधारमा तयार गरिएको)