Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुनाफा आर्जनमा अब्बल तीन लघुवित्त संस्थाहरु

२०७४ श्रावण २८ गते
सेयर:

मुनाफा आर्जनमा लघुवित्त वित्तीय संस्थाहरु पनि अब्बल हुँदै गएका छन् । हाल संचालनमा रहेका ५१ लघुवित्तमध्ये हालसम्म दुई दर्जनभन्दा बढीले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये, माहुली सामुदायिक लघुवित्त र रिलायबल माइक्रोफाइनान्सबाहेक सबैको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । यसैबीच, गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाएका तीन लघुवित्त वित्तीय संस्थाहरुको बारेमा यहाँ प्रस्तुत गरिन्छ :

निर्धन उत्थान बैंक लिमिटेड
निर्धन उत्थान बैंक लिमिटेड गत आर्थिक वर्षमा ५८ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै सबैभन्दा धेरै नाफा गर्ने लघुवित्त बनेको छ । निर्धन उत्थानले अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

६० करोड रुपैयाँ चुक्ता पूँजीको बैंकले जगेडाकोषमा एक अर्ब २२ करोड ३७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४५ दशमलव ८३ प्रतिशतले वृद्धि गरी ६ अर्ब २३ करोड ४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २० प्रतिशतले वृद्धि गरी १२ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २९ प्रतिशतले बढेर एक अर्ब ४१ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४३ दशमलव ९१ प्रतिशतले बढेर ८९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैकले प्राभिजनमा दुई करोड ४१ लाख रुपैयाँ राखेको छ ।

असार मसान्तमा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३१ प्रतिशत, पूँजीकोष अनुपात १२ दशमलव ८० प्रतिशत, प्रतिसेयर आम्दानी ९७ दशमलव २३ रुपैयाँ, मुल्य आम्दानी अनुपात २१ दशमलव ४३ गुणा, प्रतिसेयर नेटवर्थ ३ सय ३ दशमलव ९५ रुपैयाँ र तलरता अनुपात २५ दशमलव १७ प्रतिशत रहेको छ ।

छिमेक लघुवित्त विकास बैंक लिमिटेड
गत आर्थिक वर्षमा धेरै नाफा गर्ने दोस्रो लघुवित्त संस्था छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ५७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ०३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४७ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

८३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ९५ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३० दशमलव ८७ प्रतिशतले वृद्धि गरी ९ अर्ब ६ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १२ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनभन्दा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी १९ दशमलव १२ प्रतिशतले बढेर १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २२ दशमलव २८ प्रतिशतले वढेर ८८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ६ करोड १४ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ९८ लाख रुपैयाँ उठाएको छ ।

बैंकको पूँजीकोष अनुपात १४ दशमलव २८ प्रतिशत, निष्कृय कर्जामा शुन्य दशमलव ०९ प्रतिशत, प्रतिसेयर आम्दानी ६९ दशमलव ११ प्रतिशत, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ २ सय १४ दशमलव ४६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५४ प्रतिशत रहेको छ ।

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले २१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ६७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा कम्पनीले १७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

६९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रुरल माइक्रोफाइनान्सले जगेडाकोषमा एक अर्ब ३१ करोड ५३ लाख रुपैयाँ राखेको छ । जसले कर्जामा २१ दशमलव ३७ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ७५ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी २४ दशमलव ०८ प्रतिशतले बढेर ३४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २४ दशमलव ८१ प्रतिशतले बढेर ३३ करोड २१ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १ करोड १ लाख रुपैयाँ राखेको छ ।

रुरल माइक्रोफाइनान्सको पूँजीकोष अनुपात २६ दशमलव ९५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ३८ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ९० दशमलव ०५ रुपैयाँ रहेको छ ।