रुपा कोइराला । बैंकवित्त क्षेत्रलाई करको भार बढ्ने भएको छ । मुलुक संघीयतामा गएसँगै अब स्थानीय निकायले पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबाट कर असुल्ने भएका छन् । काठमाडौँ महानगरपालीकाले यसको सुरुवात समेत गरिसकेको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४।७५ को लागि नयाँ करको दर सार्वजनिक गरेको छ । जस अनुसार महानगरमा केन्द्रीय कार्यालय रहने वाणिज्य बैंकले ७५ हजार र शाखा कार्यालयले ४० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । त्यस्तै, विकास बैंकको केन्द्रीय कार्यालयले ४० हजार तथा शाखा कार्यालयलाई २५ हजार तोकिएको छ । यस्तै बीमा कम्पनीको केन्द्रीय कार्यालयलाई ५० हजार र बीमा शाखा कार्यालयलाई ४० हजार तोकिएको छ ।
अधिकांश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँमा छन् । सबै वाणिज्य बैंकका केन्द्रीय कार्यालय काठमाडौँमा छन् भने प्रायः ठूला विकास बैंकहरु पनि काठमाडौँमै छन् । काठमाडौँबाहिर रहेका बैंकहरु समेत काठमाडौँमा प्रधान कार्यालय सारिरहेका छन् ।
दोहोरो कर अन्त्य गर्ने सरकारको तयारी
सरकारले स्थानीय सरकार, प्रदेश र कतिपय केन्द्रले लिने दोहोरो करको अन्त्यका लागि एकल प्रशासनको व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ । संघीयता कार्यान्वयनमा जुटेको सरकारले राजस्वका विषयमा विशेष व्यवस्थासहितको प्रावधान राखी दोहोरो कर लिन नपाउने व्यवस्था गर्न लागेको छ । सरकारले तयार पारेको अन्तरसरकारी वित्त व्यवस्था ऐन २०७२ को मस्यौदामा पनि राजस्व प्रशासनसम्बन्धी विशेष व्यवस्था गरी एकल प्रशासनको व्यवस्था गरिएको छ । तर, महानगरपालीकाले नै कर असुल्न सुरु गरेपछि अब अन्य स्थानीय निकायहरुले पनि त्यसैलाई पछ्याउँदै आआफ्नो क्षेत्रमा रहेका बैंकहरुबाट कर असुल्न थाल्नेछन् ।
यस्तो छ, संवैधानिक व्यवस्था
नेपालको संविधानमा भने एउटै विषयमा स्थानीय तह, प्रदेश र केन्द्रले कतिपय कर तीन तहमा उठाउन सक्ने व्यवस्था छ । एकल प्रशासनसम्बन्धी व्यवस्था कार्यान्वयनमा नआउँदासम्म यसै व्यवस्थामा टेकेर स्थानीय निकायले कर लगाउन सक्नेछन् । एकल प्रशासनसम्बन्धी व्यवस्थामा भने संविधानको अनुसूची ५, ६ र ८ वमोजिम दुई तहले लगाउन र उठाउन सक्ने राजस्वको एकल प्रशासनसम्बन्धी व्यवस्थामा उल्लेख छ । सरकारले आयकर संकलन गर्दा प्रदेशको कृषि आयमा लाग्ने करसमेत संकलन गर्ने भनिएको छ ।