Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक खाता ५० लाख बढ्ने

२०७४ असार ३० गते

मेनुका कार्की / नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ । सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड निब्र्याजी ऋण दिने नीति ल्याएको छ । यसका कारण आगामी आर्थिक वर्ष बैंक खाता बढ्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो । यस्तै दुर्गमका स्थानीय तहमा जाने बैंकलाई पनि एक वर्षसम्म एक करोड निब्र्याजी कर्जा उपलब्ध गराउने राष्ट्र बैंकको प्रतिबद्धता छ । यसले बैंक तथा वित्तीय संस्थाले पनि आफ्नै पहलमा बैंक खाता बढाउनेछन् । देश संघीय संरचनामा गएर सात सय ४४ वटा स्थानीय तह बने पनि हालसम्म दुर्गममा बैंक विस्तार हुन सकेको छैन ।

मौद्रिक नीतिमार्फत स्थानीय तहमा राष्ट्र बैंकले अनिवार्यरूपमा शाखा विस्तार गर्न निर्देशन दिने भएको छ । हाल नेपालभरि दुई हजार आठ सय ७१ वटा बैंक शाखा रहे पनि तीन सय ९२ वटा स्थानीय तहमा मात्र बैंक शाखा छन् । अझै तीन सय ५२ स्थानमा बैंक शाखा पुग्न बाँकी छ । २५ सय बराबरको खाता खोल्दा सहुलियतमा ऋण पाउने भएपछि बैंकिङ पहुँच विस्तार हुने राष्ट्रले जानकारी दिएको छ । यसका साथै १० लाखभन्दा बढीको नगद कारोबार गर्न पनि राष्ट्र बैंकले यही साउनदेखि रोक लगाउँदै छ भने सोभन्दा माथिको कारोबारमा एसी चेक प्रयोग गर्नुपर्ने भएकाले पनि खाता खोल्न सबैको आकर्षण बढ्नेछ ।

वर्षमै २७ लाखले बढ्यो खाता

एक वर्षमा बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या २७ लाख १६ हजार ६ सयले बढेको छ । गएको वर्ष यसै अवधिमा बैंक तथा वित्तीय संस्थामा एक करोड ६१ लाख २७ हजार निक्षेप खाता रहेकामा हाल बढेर एक करोड ८८ लाख ४३ हजार ६ सय पुगेको नेपाल राष्ट्र बेंकले जानकारी दिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु गरेकाले निक्षेप खाता खोल्नेको संख्या उल्लेख्य बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘सबै नेपालीको बैंक खाता' अभियान सुरु गरेकाले निक्षेप खाता खोल्नेको संख्या उल्लेख्य बढेको छ ।

यो अभियानमार्फत नेपाल राष्ट्र बैंकले शून्य मौज्दातमा खाता खोल्ने व्यवस्था मिलाइ दिएपछि नेपालीको बैंकिङ क्षेत्रमा पहुँच बढ्दै गएको हो । निक्षेप खातामध्ये एक करोड ४९ लाख २९ हजार खाता वाणिज्य बैंकमा खोलिएको छ भने ३४ लाख ३७ हजार विकास बैंकका निक्षेप खाता हुन् । हालसम्म वित्त कम्पनीमा चार लाख ७६ हजार आम निक्षेपकर्ताको खाता रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेपकर्ताको खाताभन्दा कर्जा खाताको संख्या निकै कम छ ।

हालसम्म बैंक तथा वित्तीय संस्थामा ११ लाख ८३ हजार ६ सय ३२ मात्र कर्जा खाता खोलिएको छ । गत वर्ष यो अवधिमा यस्तो खाताको संख्या १० लाख ६७ हजार सात सय थियो । यसको अर्थ बैंकमा निक्षेप संकलन गर्नेभन्दा कर्जा लिने संख्या अत्यन्त कम भएको बुझ्न सकिन्छ । देशमा उद्योगधन्दा तथा व्यापार व्यवसाय फस्टाउन सकेमा कर्जाको खाता बढ्ने हो । खासै उत्साहजनक तरिकाबाट व्यवसाय फस्टाउन नसकेका कारणले पनि तुलनात्मक रूपमा यस्तो खाता कम भएको बैंकर्सको भनाइ छ ।

यसैगरी मोबाइल बैंकिङ सेवामार्फत बैंकिङ सेवा लिने ग्राहकको संख्या २४ लाख २६ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ सेवाको सात लाख ३४ हजार ग्राहक माझ पुगेको छ । दुई हजार ४७ स्थानमा एटीएम मेसिन जडान गरिएको छ । डेबिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७३ जेठमा बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब छ हजार ६ सय ४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट पाँच हजार आठ सय नौ जनाले सेवा प्राप्त गरेका छन् । शाखारहित बैंकको संख्या एक सय ४२ पुगेको छ । हालसम्म एक ५५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीको प्रक्रियाबाट एक सय १२ वटा संस्था खारेज भई ४३ मा सीमित रहेको राष्ट्र बैंकको तथ्यांक छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार