Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभर चर्चामा रहेका एक दर्जन बैंकिङ खबरहरु

२०७४ असार २३ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बीमा शूल्क दर घट्यो
बीमा समितिले निर्जीबन बीमा ब्यवसाय तर्फको बीमा शुल्क घटायो । समितिले साउन १ गतेदेखि लागू हुने गरी निर्जिवनअन्तर्गतका विभिन्न बीमालेखको बीमाशूल्क दर घटाएको हो । भवन बीमा,वेयर हाउस तथा गोदाम बीमा, कलकारखाना बीमा, अग्नी बीमा, गार्हस्थ बीमा, ब्यक्तिगत दुर्घटना बीमा, सवारी साधन बीमा लगायतको बीमा दरलाई उल्लेख्य रुपमा घटाएको बीमा समितिले जनाएको छ ।

स्थानीय तहमा २५० बैंक शाखा खोल्ने प्रस्ताव
नेपाल बैंकर्स संघले निजी बैंक नपुगेका नगर र गाउँपालिकामा २५० वटा नयाँ शाखा खोल्न प्रस्ताव गर्यो । बैंकिङ सुविधा नपुगेका सात वटै प्रदेशका २५० वटा स्थानीय तहमा निजी बैंकको शाखा थप्नका लागि राष्ट्र बैंकलाई प्रस्ताव गरेको संघका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए । जस अनुसार, प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकबाहेक २७ वटै वाणिज्य बैंकहरु शाखा विस्तार गर्न तयार भइसकेका छन् ।

थप तीन क्लियरिङ बैंक
हालसम्म धितोपत्र कारोबारको रकमको राफसाफ ग्लोबल बैङ्क लिमिटेडमार्फत मात्र हुँदै आएकोमा आइतवारदेखि थप तीनओटा बैङ्कले पनि राफसाफ (क्लियरिङ) बैङ्कको रूपमा काम थाले । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबाट पनि आइतबारदेखि धितोपत्र कारोबार रकमको राफसाफ हुने भएको हो । यी तीन बैंकमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लीड बैङ्कका रूपमा नेपाल इन्भेष्टमेण्ट बैङ्कलाई छनोट गरेको छ । तोकिएको मापदण्डका आधारमा नेपाल इन्भेष्टमेण्ट बैङ्क प्रथम श्रेणीमा परेकाले यसलाई नै लीड बैङ्कका रूपमा छानिएकोे कम्पनीले जनाएको छ ।

तीन जोडी बैंकलाई मर्जर स्वीकृति
नेपाल राष्ट्र बैंकले छ वटा बैंकहरुलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गर्यो । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । ग्लोबल आईएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंकलाई गाभ्ने स्वीकृति पाएको छ भने सांग्रिला विकास बैंकले कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने स्वीकृति पाएको छ । त्यस्तै, कामना विकास र सेवा विकास बैंकबीचको कर्जरलाई पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अब छिटै नै यी बैंकहरुले एकीकृत कारोबार थाल्नेछन् । 

चार वित्तीय संस्था कुमारी बैंकमा गाभिए
कुमारी बैंक लिमिटेडले चार वित्तीय संस्थालाई एकैपटक गाभेर एकिकृत कारोबार शुरु गर्यो । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो । चार वटा वित्तीय संस्थालाई एक्वायर गरेपछि कुमारीको चुक्तापुँजी छ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । बैंकले एकीकृत कारोबारपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत अर्थात एक अर्ब १९ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यसपछि बैंकको चुक्ता पुँजी सात अर्ब चार करोड रुपैयाँ नाघ्ने बैंकको दाबी छ । प्राप्ति पछि बैंकको कुल निक्षेप ५२.३० अर्ब, कर्जा ४४.९५ अर्ब, शाखा ७४, एटीएम ५७ तथा एक्स्टेन्सन काउन्टर २ पुगेको छ ।

गण्डकी र फेवा मिलेर गण्डकी विकास बैंक
राष्ट्रिय स्तरको फेवा विकास बैंक र क्षेत्रीय स्तरको गण्डकी विकास बैंकसँग एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरे । पोखरा केन्द्रीय कार्यालय रहेका यी दुई विकास बैंक एकआपसमा गाभिएर गण्डकी विकास बैंकको नामबाट बुधबार एकिकृत कारोबार शुरु गरेका हुन् । मर्जरपछि बनेको गण्डकीको प्रमुख कार्यकारी अधिकृतमा भने रेशम बहादुर थापालाई नियुक्त गरिएको छ । मर्जरपछि बनेको गण्डकी विकास बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड रुपैयाँ पुगेको साविकको गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । मर्जरपछि बैकको निक्षेप १८ अर्ब २३ करोड रुपैयाँ, कर्जा १६ अर्ब ४७ करोड र  ग्राहक संख्या २ लाख पचास हजार रुपैयाँ पुगेको छ भने बैंकमा कर्मचारी चार सय जना, ५० वटा शाखा र एटीएम संख्या २१ वटा पुगेको छ ।

महालक्ष्मी र यती मिलेर महादक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक गाभिएर महालक्ष्मी विकास बैंकको नामबाट संयुक्त कारोबार गरे । यी दुई विकास बैंक मर्जर पछि चुक्ता पुँजी २ अर्ब ६३ करोड भएको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागी २ अर्ब ५० करोड चुक्ता पुँजी तोकेको थियो । मर्जर पछि महालक्ष्मी विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु भएपछि यति डेभलपमेन्ट बैंक औपचारिक रुपमै विलय भएको छ । मर्जरपछि महालक्ष्मि विकास बैंकको शाखा ६५ पुगेको छ भने, ग्राहक संख्या ३ लाख ६४ हजार पुगेको छ । संचालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलाई नियुक्त गरेको छ । उनी मर्जर अघि महालक्ष्मि विकास बैंककै प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकको ६ सदस्यीय नयाँ सञ्चालक समितिमा अध्यक्ष राजेश उपाध्याय तथा संचालक सदस्यहरुमा अरुणराज सुमार्गी, संजय गिरि, बिरेन्द्र कुमार संघाई, राजेश कुमार रौनियार र रुपेन्द्र पौडेल छन् ।

भारतमा पढेका सीएले मान्यता नपाउने
नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा सीए अध्ययन गरे मान्यता नदिने निर्णय गर्यो । आइक्यानले २०७५ साउन १ गतेदेखि लागू गरी यस्तो निर्णय गरेको हो । जसअनुसार, अब एकवर्षपछि भारतमा पढेका सीएले नेपालमा मान्यता पाउने छैनन् । हालसम्म दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन रहेको छ । तर, भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएपछि आइक्यानले पनि भारतका पढेका सीएलाई मान्यता नदिने निर्णय गरेको हो ।

१२ बैंकिङ शाखा विस्तार
यो साता एनआईसी एशिया बैंकले छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगु र खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोट र कैलालीको बौलियाँमा गरी तीन नयाँ विस्तार गर्यो । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले तानसेन–पाल्पा, बेलौरी–कञ्चनपुर, कलुवापुर–कञ्चनपुर  र गल्छी– धादिङमा गरी एकैपटकमा चार शाखा विस्तार गर्यो । त्यस्तै, सानिमा बैंकले काठमाडौँको महाराजगंजमा नयाँ शाखा विस्तार गर्यो । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९औँ शाखा हेटौंडामा विस्तार गर्यो । सर्लाही जिल्लाको बलरा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकले १७५ औं शाखा कार्यालय स्थापना गर्यो । लक्ष्मी बैंकले सल्यानको, सल्लीबजारमा नयाँ शाखा विस्तार गर्यो । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मकवानपूरको मनहरी गाउँपालीका. – ७ मा नयाँ शाखा विस्तार गर्यो ।

अन्तरबैंक विद्युतीय भुक्तानी महशूल घट्यो
नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस) बाट हुने कारोबारको महसुल घटायो । यसअघि अधिकतम १०० रुपैंयासम्म शुल्क लाग्दै आएकोमा अब बढीमा १५ रुपैंया मात्र महसुल लाग्ने क्लियरिङ हाउसले जनाएको छ । यो महशूल दर साउन १ गतेदेखि लागू हुँदैछ ।

दुई बैंकका अध्यक्षद्धारा डेपुटी गभर्नरसमक्ष शपथ ग्रहण
महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संचालक समितिका नवनिवार्चित अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले पनि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष पद तथा गोपनियताको सपथ लिए ।

अन्य

  • नेपालका लागि इजरायली राजदुत यारोन मायरले धर्मपथ काठमाडौँस्थित नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयको अवलोकन भ्रमण गरे ।
  • माई जोगमाई गाउँपालीका अन्र्तगत नयाँवजारमा रहेको लक्ष्मी लघुवित्तले मृतक ग्राहकको परिवारलाई बीमा रकम हस्तानतरण गर्यो ।
  • नेपाल बैंक लिमिटेडको  विभिन्न कम्पनीमा रहेको सेयरनिवेश गर्ने प्रयोजनार्थ सेयरको उचित मुल्य निर्धारण निम्ति बैंक र एनआईविएल क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता भयो ।
Ad