Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बूढीगण्डकी जलविद्युत् आयोजनाले थप ३१५ लाई मुआब्जा दिने 

२०७४ असार २२ गते

बाह्र सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको बताए हो । 

प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ । प्रजिअ बस्नेतले भने, “३१५ जना प्रभावितको बैंक खातामा कुल  ८५ करोड रुपैयाँ पठाउने समितिले निर्णय गरेको छ ।” अहिलेसम्म बूढीगण्डकी प्रभावितलाई  दुई अर्ब चार करोड रुपैयाँ  मुआब्जा दिइसकिएको छ ।

अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो । चालु आवमा मुआब्जाका लागि  पाँच अर्ब रुपैयाँ बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ । गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् ।

बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाए पनि कस्तो घर बनाउने भन्नेबारे आफूहरु अन्योलमा रहेको पनि बताएका छन् । छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरुको भनाइ छ । रासस