Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको तयारी :  उत्पादन क्षेत्रमा कडाई, गाडि खरीदमा केही नरम 

२०७४ असार २१ गते

राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति अबको केहीदिनमै सार्वजनिक गर्ने तयारी गरेको छ ।  मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा कम्पनीहरु लगायत उद्योग व्यवसायीहरुले आआफ्नो तर्फबाट सुझाव पेश गरिसकेका छन् । सबैको सुझावको उचित सम्बोधन गर्दै आर्थिक तथा वित्तीय क्षेत्रलाई अझ सबल बनाउने खालका व्यवस्थासहित आगामी मौद्रिक नीति ल्याउन लागिएको छ । 

मौद्रिक नीतिमा ब्याज दर स्थायित्वका बारेमा पनि केही नयाँ कुरा आउने छ । त्यसैगरी पूनर्कर्जा कोष बढाउने तयारी भइरहेको छ । गाडी कर्जाको डाउनपेमेन्ट पनि घटाइने भएको छ । चालु आर्थिक बर्षको अर्धवार्षिक समिक्षामा राष्ट बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउने योजनाका साथ गाडि कर्जामा केही कडाई गरेको थियो । ८० प्रतिशत सम्म बेंकले लगानी गरेको गाडीमा ५० प्रतिशत डाउनपेमेन्ट तोकिएको थियो । यस बारेमा आगामि मौद्रिक नीतिले केही सहजीकरण गर्ने छ । जसमा ३० प्रतिशतसम्म डाउनपेमेन्ट गरेर गाडि खरिद गर्न सकिने व्यबस्था गर्न लागिएको समाचार स्रोतले जनाएको छ ।  त्यसैगरी व्याजदरको स्प्रेड दरबारे पनि मौद्रिक नीतिमा नयाँ कुरा आउने छ । समाचार स्रोतका अनुसार केही प्रतिशत भएपनि स्प्रेड दर  घटाइने तयारी छ । 

आगामी मौद्रिक नीतिमा उत्पादन क्षेत्रमा राष्ट्र बैंकले केही कडाई गर्ने तयारी गरेको छ । समाचार स्रोतका अनुसार हाल तोकिएको २० प्रतिशतलाई बढीमा ३० प्रतिशत नत्र केही प्रतिशत बढाएर उत्पादन क्षेत्रमा लगानी गर्न बैंकहरुलाई बाध्य पारीने छ । छिमेकी देश भारतमा भने ४० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न बैंकहरुलाई केन्द्रीय बैंकको निर्देशन छ । 

राष्ट्र बैंकले पुर्वाधार बैंक स्थापनाका लागि सक्रिय पहल थाल्नेगरी मौद्रिक नीतिमा उल्लेख गर्न लोको छ । हाल स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेको अबस्थामा पूर्वाधार विकासका लागि पूर्वाधार विकास बैंक खोल्न अपरिहार्य ठानिएको छ । पूर्वाधार क्षेत्रको विकासका लागि गभर्नर डा. चिरंजीवि नेपालले पहिलो मौद्रिक नीतिमै पूर्वाधार बैंक निर्माणको परिकल्पना गरेका थिए । उक्त परिकल्पनालाई साकार पार्नेगरी राष्ट्र बैंकले यसपालीको मौद्रिक नीति तयार गरीरहेको समाचार स्रोतको भनाई छ ।   

राष्ट्रिय एजेण्डा महत्वपूर्ण

नेपाल राष्ट्र बैंक कुनै पनि संस्था, व्यक्ति वा समुदायको नीजि फाइदाका विषयमा कठोर देखिएको छ । त्यस्ता विषयमा आधारित सुझावहरुलाई राष्ट्र बैंकले ठाडै अस्वीकार गरेर अघि बढ्ने नीति अपनाएको छ । काँचो सुन आयात गर्न पाउनुपर्ने भन्दै सुन व्यबसायीहरुले राष्ट्र बैंक समक्ष माग गरेका थिए ।  उक्त मागलाई राष्ट्र बैंकले सम्बोधन गर्ने छैन । अन्य बेतिथि बढाउने किसिमका नीतिमा पनि राष्ट्र बैंकले कठोर नीति नै अपनाउने बुझिएको छ । हाउजीङ, घरजग्गा तथा अन्य अनुत्पादक क्षेत्रलाई विस्तारै कडाई गर्दै लैजाने नीति अवलम्बन गरिएको छ । राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै लैजाने नीतिबाट अनुत्पादक क्षेत्रको लगानी क्रमश कम हुने विश्वास लिएको छ । त्यसैगरी राष्ट्रिय आबश्यकताका सवाललाई राष्ट्र बैंकले महत्वका साथ हेरेको छ । जस अनुसार वित्तीय चेतना, ग्रामिण क्षेत्रमा बैंकिङ पहुँच विस्तार, विपन्न नागरिकमाथि लगानी, कृषि र उत्पादन क्षेत्रमा लगानी बृद्धि जस्ता विषयलाई राष्ट्र बैंकले महत्व दिदै आएको छ ।