June 23rd, 2017

वाणिज्य बैंकहरूले समयमै पुँजी पुर्‍याउने

मेनुका कार्की/ वाणिज्य बैंकहरूले समयमै चुक्ता पुँजी पुर्‍याउने भएका छन् । एक÷दुईवटा वाणिज्य बैंकलाई पुँजी पुर्‍याउन गाह्रो भए पनि अन्य सबैले तोकिएकै समय यही असार अन्तिमसम्ममा चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउने देखिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले वाणिज्य बैंकको पुँजी वृद्धि योजनाअनुसार नै पुग्ने जानकारी दिनुभयो । विकास बैंक र वित्त कम्पनीमा भने केही समस्या देखिएको छ । एक दुई बैंकमा समस्या देखिए पनि उनीहरूले विभिन्न माध्यमबाट यही असार अन्त्यसम्म चुक्ता पुँजी पुर्‍याउनेछन् । यस्ता बैंकले वार्षिक लेखा परीक्षणमा देखिने गरी पुँजी वृद्धि गरे पनि यसमा राष्ट्र बैंक सहमत हुन सक्ने उहाँले बताउनुभयो । पुँजी वृद्धिका लागि समय नथपिने पौडेलको भनाइ छ । यस विषयमा मौद्रिक नीतिमा केही व्यवस्था आउनेछ', उहाँले भन्नुभयो ।

अधिकांश बैंकले गएको वर्ष तेस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य पुँजी वृद्धि गरेका छन् । मर्जर, एक्विजिनसन, बोनस तथा हकप्रद सेयर र फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गरेर निर्धारित समयमा पुँजी पुर्‍याउन बैंकहरू कसिएका हुन् । राष्ट्र बैंकका अनुसार दुईवटा वाणिज्य बैंकको तोकिएको पुँजी पुगेको छ, बोनस सेयर दिएरै पाँचवटाले पुर्‍याउने भएका छन् तीनवटाले एफपीओ र ६ वटाले हकप्रद जारी गरेर पुर्‍याउनेछन् । १२ वटाले पनि आआफ्नो तरिकाबाट पुँजी पुर्‍याउने योजना बनाएको छ । बैंकहरूले चालू आवमा कमाएको नाफाको २० प्रतिशत सञ्चित कोषमा राखेर अन्य नाफाको भने बोनस सेयर निष्कासन गर्न पाउने व्यवस्था छ । साथै, बैंकहरूले राष्ट्र बैंकले दिएको समय सीमाभित्र पुँजी पुर्‍याउन हकप्रद सेयर पनि निष्कासन गरिरहेका छन् ।

पुँजी वृद्धि योजनामा सबैभन्दा कमजोर जनता र कुमारी, सेन्चुरी कमर्सियल र एनसीसी बैंक देखिएका छन् । सिद्धार्थ र त्रिवेणी विकास बैंक जनता बैंकसँग गाभिएपछि जनता बैंकको चुक्ता पुँजी पनि ६ अर्बभन्दा माथि पुग्छ । यस वर्षको नाफा र बोनस सेयरबाट निर्धारित पुँजी पुग्ने योजना बैंकले बनाएको छ ।
एनसीसी बैंकसँगको मर्जरबाट अलग भई आफ्नै प्रयासमा पुँजी वृद्धिको बाटोमा अगाडि बढेको कुमारी बैंक लिमिटेडले चारवटा वित्तीय संस्थालाई गाभेर चुक्ता पुँजी पुर्‍याउने भएको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई आफूमा गाभ्ने प्रक्रिया करिब पूरा भएको छ । कुमारी बैंकको हाल चुक्तापुँजी तीन अर्ब २७ करोड रुपैयाँ छ । हालै कुमारी बैंकले ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सेयर जारी गरेको थियो । बोनस र हकप्रदपछि बैंकको चुक्तापुँजी चार अर्ब ६१ करोड पुग्नेछ । चारवटा वित्तीय संस्था गाभेपछि चुक्तापुँजी पाँच अर्ब ९६ करोड पुग्नेछ । कुमारी बैंकले पनि जतो तसो चुक्ता पुँजी पुर्‍याउन देखिएको छ । नेपाल बंगलादेश बैंकले एक सय कित्ता सेयर बराबर ८० कित्ता राइट सेयर दिएर पुँजी पुर्‍याउँदैछ ।

सनराइज बैंक लिमिटेडले १० कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रतिसेयर सयका दरले एक करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता बराबर एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँको हकप्रद सेर निष्काशन गरेर चुक्ता पुँजी पुर्‍याउन लागेको हो ।

एभरेस्ट बैंकले राष्ट्र बैंकले दिएको समयमै चुक्ता पुँजी पुर्‍याउन ३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी चार अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ छ । बैंकले प्रतिसेयर अंकित दरका एक अर्ब ५० करोड ८८ लाख ८ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

सेन्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्तिपछि हुने एकीकृत पुँजी चार अर्ब ७१ करोड ३५ लाख ६४ हजार दुई सय १३ रुपैयाँको ४० प्रतिशतले हुने एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता सेयरको एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । बैंक अफ काठमान्डूले चुक्ता पुँजी व्यवस्था गर्न संस्थापक सेयरधनीका लागि जारी गर्न लागेको एफपीओको दर एक सय रुपैयाँ अंकित मूल्य र दुई सय १० रुपैयाँ प्रिमियमसहित तीन सय १० रुपैयाँ कायम हुने गरी सेयर निष्कासन गर्न लागेको छ । बैंकले संस्थापक सेयरधनीका लागि ६१ लाख ५८ हजार ६७ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ६३ करोड छ ।

मर्जर, एक्विजिनसन, बोनस तथा हकप्रद सेयर र फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गरेर निर्धारित समयमा पुँजी पुर्‍याउन बैंकहरू कसिएका हुन् ।

एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पुँजीमा ६१ करोड ५८ लाख रुपैयाँ थप भई चुक्ता पुँजी ६ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । यस्तै प्रिमियमबाट आउने एक अर्ब २९ करोड रुपैयाँ भने बैंकको जगेडा कोषमा जम्मा हुनेछ । पछिल्लो समय पुँजी वृद्धि योजनामा सहभागी हुने निर्णय गरेको विदेशी लगानीमा सञ्चालित स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफपीओबाट चुक्ता पुँजी पुर्‍याउने योजना बनाएको छ । बैंकले प्रतिसेयर सयमा एक हजार एक सय ९० रुपैयाँ प्रिमियम थप गरी एक हजार दुई सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता सेयर निष्काशन गरेर तीन अर्ब ३० करोड पुँजी संकलन गरेको छ । चैतमसान्तसम्म उक्त बैंकको चुक्ता पुँजी तीन अर्ब ७५ करोड छ । नेपाल इन्भेस्मेन्ट बैंकलगायतका बैंकले भने गत वर्ष नै एफपीओ निष्कासन गरेर पुँजी वृद्धि योजनामा बलियो बैंकका रूपमा प्रस्तुत भइसकेका छन् ।

सबै वाणिज्य बैंकहरूले चुक्ता पुँजी पुर्‍याउने भएपछि राष्ट्र बैंकले बैंक घटाउने उद्देश्यले चुक्ता पुँजी बढाउन लिएको नीति भने फेल हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले गएको वर्षको मौैद्रिक नीतिमार्फत २०७४ असारसम्ममा वाणिज्य बैंकको आठ अर्ब, विकास बैंकको दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ले विकास बैंकको एक अर्ब २० करोड, एकदेखि तीन जिल्ले विकास बैंकको ५० करोड, राष्ट्रियस्तरका र चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीको ८० करोड र एकदेखि तीन जिल्ला कार्यकक्षेत्र भएका वित्त कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पु‍र्‍याउनु पर्ने घोषणा गरेको थियो ।

चैतसम्म एक सय ३६ संस्था मर्ज तथा एक्वायर भएर ४४ वटा पुगेको छ भने थप २८ बैंक तथा वित्तीय संस्थाले एक आपसमा गाभिन राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । सैद्धान्तिक सहमति पाएका २८ संस्था मर्जपछि ११ को संख्यामा सीमित हुने भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]