रुपा कोइराला । गत माघ महिनादेखि ऐच्छिक रुपमा लागू भएको आस्वा प्रणाली अब साउनदेखि अनिवार्य हुँदैछ । अनिवार्य नै हुने भएपछि अहिले आस्वा सेवा दिन बैंकहरुले प्रतिष्पर्धा गरिरहेका छन् । आस्वाको अनुमति लिने कार्यलाई बैंकहरुले तीब्र पारेका छन् । वाणिज्य बैंकहरु सबैले आस्वा सेवा दिन थालिसकेका छन् भने अन्य बैंकहरु पनि अनुमति लिने क्रममा छन् ।
स्थानीय स्तरबाटै सेयर खरिदविक्री
आस्वा प्रणाली अनिवार्य भएपछि अब स्थानीय ठाउँबाटै सेयर खरिद गर्न सकिने छ । बैंकहरुको शाखाबाट नै आफूले चाहेको कम्पनीको सेयर खरिदविक्री गर्न पाइनेछ । यस प्रणालीमार्फत थुप्रै कम्पनीले सार्वजनिक निष्कासन पनि गरिसकेका छन् । आस्वा प्रणाली अनिवार्य भएपछि सेयर बजार सहज, पारदर्शी र अनुशासित हुने बोर्डको दाबी छ ।
के हो आस्वा प्रणाली ? यसबाट कसरी किनबेच गर्ने सेयर ?
धितोपत्र सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिनेछन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ ।
सेयर बाँडफँड भएको जानकारी वेभसाइटमार्फत
सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइन्छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ ।
सेयर बाँडफाँड भएको सात दिनभित्र डिम्याट खातामा सेयर
सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।
कुन बैंकमा कति शूल्क ?
आवेदकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत निवेदन दिँदा खाता रोक्का वापत शुल्क बुझाउनु पर्नेछ । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था छ । यद्यपि, पछिल्लो समय थुप्रै बैंकहरुले यो सेवा निशूल्क दिने घोषणा गरेका छन् भने कुनै बैंकले एक रुपैयाँ तथा कुनैले २० रुपैयाँमात्र शूल्क लिएर आस्वा सेवा दिने घोषणा गरेका छन् । हालै प्रभु बैंकले एक रुपैयाँमा आस्वा सेवा दिने घोषणा गरेको थियो । कुमारी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, सानिमा बैंक, कृषि विकास बैंक, माछापूछ्रे बैंक, एनएमबि बैंक, ओम डेभलपमेन्ट बैंक लगायतले निशूल्क आस्वाको घोषणा गरेका छन् । सिटिजन्स बैंकले भने २० रुपैयाँमा यो सेवा दिने बताएको छ । अन्य बैंकहरु पनि आस्वा सेवा दिने सम्बन्धमा प्रतिष्पर्धामा उत्रिएका छन् । बैंक वा वित्तीय संस्थाले लगानीकर्ताबाट लिएको कूल सेवा शुल्कको पन्ध्र प्रतिशतले हुन आउने रकम निष्काशन तथा बिक्री प्रबन्धकलाई र तीन प्रतिशतले हुन आउने रकम बोर्डलाई धितोपत्र बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनु पर्नेहुन्छ ।
आस्वालाई व्यवस्थित बनाउने गृहकार्यमा धितोपत्र बोर्ड
आस्वा सेवा अनिवार्य हुने भएपछि अब धितोपत्र बोर्ड आस्वालाई व्यवस्थित बनाउनतर्फ लागेको छ । यसका लागि बोर्डले नौ बुँदे निर्देशन नै जारी गरेको छ । बोर्डले सेयर खरीद आवेदन फारममा आवेदकले नामथर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखतलगायत सम्पूर्ण विवरणहरु रुजु गरेर मात्र सेयर खरीद आवेदन लिन निर्देशन दिएको छ । फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत अनिवार्य हुनुपर्ने बोर्डले बताएको छ । विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ । साथै आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नु पर्ने बताइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्बन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा त्यही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउनसमेत बोर्डले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखाबाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्दर्भमा कुन शाखावाट प्राप्त भएको हो त्यो पनि खुलाउनु पर्ने बताइएको छ । उनीहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासँग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नम्बर र पत्राचार गर्ने आधिकारीक इमेल सात दिनभित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने निर्देशन बोर्डले दिएको छ । त्यस्तै, निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्न निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट यो सेवा उपलब्ध गराउनुपर्ने र त्यसका लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नुपर्ने बोर्डद्धारा जारी निर्देशनका उल्लेख छ । आस्वा प्रणाली सम्वन्धमा २०७४ श्रावण अगाडि कम्तीमा एक पटक र त्यसपछि समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्न समेत बोर्डले निर्देशन दिएको छ ।
बैंक नपुगेका ठाउँमा के गर्ने ?
आस्वा सेवा बैंकमार्फत लिने सेवा हो । एक अनौपचारिक अध्ययनका अनुसार, नेपालमा अझै पनि आधाभन्दा बढी जनसंख्या बैंकिङ पहुँच बाहिर छ । बैंकहरु ग्रामिण भेगमा जान नमान्ने प्रवृत्तिका कारण कतिपय सर्वसाधारणलाई बैंक के हो भन्ने नै थाहा छैन । बैंक नै नबुझेका सर्वसाधारणलाई बैंकमार्फत सेयर कारोबारमा संलग्न गराउनु एकदमै चुनौतिपूर्ण छ । हुन त नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकहरुको शाखा पुर्याउन पहल थालिसकेको छ । राष्ट्र बैंकले कडाइका साथ सबै बैं)कहरुलाई निर्देशन दिएपछि अब बैंकहरु पनि विकट क्षेत्रमा विस्तारै पुग्न थालेका छन् । सरकारको अपेक्षाअनुरुप नै हरेक स्थानीय तहमा बैंक पुग्यो भने वित्तीय पहुँचको विस्तार मात्रै नभएर त्यहाँका ससाना पुँजीले पनि मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने अस्वसर समेत पाउनेछन् । गरीब तथा विपन्न वर्गका जनताले पनि सेयरमा लगानी गरेर आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउने सक्नेछन् । फलतः समग्र मुलुकको अर्थतन्त्र नै नयाँ आयामतर्फ प्रवेश गर्नेछ ।




