Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारी कर्मचारीको लगानीमा ४२६ मेगावाटको जलविद्युत् आयोजना बन्ने

२०७४ असार ६ गते

काठमाडौ । सरकारी कर्मचारीहरुको लगानीमा ठूलो जलबिद्युत आयोजना निर्माण हुने पक्का भएको छ । सरकारले कालीकोटमा आयोजनास्थल रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ ।

ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कंम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तलाई सो आयोजना अध्ययनको अनुमतिपत्र प्रदान गरे। कंम्पनीले अध्ययन तथा निर्माण प्रक्रियासमेत अगाडि बढाउने गरी अनुमतिपत्र दिइएको हो ।

आयोजनाको लागत करिब रु ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । आन्तरिक लगानीमा नै आयोजना अगाडि बढाइने लक्ष्यका साथ अनुमतिपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ । सो आयोजनामा जलविद्युत् उत्पादन तथा लगानी कंम्पनीको अगुवाईमा नागरिक लगानी कोष, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक र निजामती कर्मचारी, नेपाली नागरिक र स्थानीयवासीको समेत लगानी रहने छ ।

नयाँ बजेट वक्तव्यमा कुल ५०० मेगावाट क्षमताको एक जलविद्युत् आयोजना सरकारी कर्मचारीको लगानीमा अगाडि बढाइने कार्यक्रम समावेश गरिएको छ ।

कर्मचारीको लगानीमा आयोजना अगाडि बढाउने बारेमा गत जेठ ८ गते नै मन्त्रालयले आवश्यक निर्णय गरिसकेको छ । यस्तै नेपाली सेनाको सैनिक कल्याणकारी कोष तथा अन्य कोषमा जम्मा भएको रकमसमेत सो आयोजनामा लगानी गरिने भएको छ । रासस