June 18th, 2017

बीमा शुल्क साढे ३३ प्रतिशतले बढ्यो

यज्ञ बञ्जाडे, अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बिमा कम्पनीहरूको (जीवन र निर्जीवन) प्रिमियम (बिमा शुल्क) साढे ३३ प्रतिशतले बढेको छ । कम्पनीहरूको व्यावसायिक विस्तारसँगै बिमासम्बन्धी चेतनामा पनि सुधार आएकाले बिमा शुल्क उच्च दरले बढेको हो । आर्थिक वर्ष ०७३/७४ को तेस्रो त्रैमाससम्ममा कम्पनीहरूको बिमा शुल्क ४० अर्ब २१ करोड रुपैयाँ छ । जसमध्ये जीवन बिमा कम्पनीको २६ अर्ब १ करोड र निर्जीवन बिमा कम्पनीहरूको १४ अर्ब १९ करोड रुपैयाँ छ । जीवन बिमा कम्पनीहरूको कुल प्रिमियममध्ये ७ अर्ब ४८ करोड रुपैयाँ नयाँ र १८ अर्ब २५ करोड रुपैयाँ नवीकरणबापत संकलन भएको जनाइएको छ । 

आर्थिक वर्ष ०७२/७३ को तेस्रो त्रैमाससम्म बिमा कम्पनीहरूको बिमा शुल्क ३० अर्ब १० करोड रुपैयाँ थियो । त्यसमध्ये जीवन बिमाको १९ अर्ब ८५ करोड र निर्जीवनको १० अर्ब २३ करोड रुपैयाँ रहेको बिमा समितिको तथ्यांक छ । पछिल्लो समयमा सर्वसाधारणमा बिमासम्बन्धी चेतनामा बढ्नुका साथै कम्पनीहरूको व्यवसाय विस्तार भएकाले प्रिमियम संकलन पनि बढेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘समितिले केही क्षेत्रमा बाध्यात्मक रूपमा बिमा गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ, यसले बिमा व्यवसाय बढाएको छ, त्यसले प्रिमियम पनि बढ्यो,’ उनले भने । पछिल्ला वर्षहरूमा आम मानिसमा स्वैच्छिक रूपमा बिमा गर्नुपर्छ भन्ने धारणा बढ्दै गए पनि पर्याप्त नभएको जनाउँदै उनले भने, ‘सर्वसाधारणमा बिमा पहुँच विस्तार गर्नुका साथै बिमासम्बन्धी चेतना व्यापक रूपमा विस्तार गर्नुपर्नेछ ।’ 

एक वर्षको अवधिमा बिमा शूल्क र जारी बिमालेख संख्या बढे पनि दाबी भुक्तानीमा भने कमी आएको छ । ०७२ वैशाखको विनाशकारी भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि बिमा कम्पनीहरूको दाबी भुक्तानी बढेको थियो । आर्थिक वर्ष ०७२/७३ को तेस्रो त्रैमाससम्ममा बिमा कम्पनीहरूले १४ अर्ब ६८ करोड रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो दाबी भुक्तानी १४ अर्ब ३९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो झन्डै २ प्रतिशतले कम हो । जसमध्ये जीवन बिमा कम्पनीहरूले ७ अर्ब ४८ करोड र निर्जीवनले ६ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी गरेको समितिको तथ्यांक छ । 

गएको एक वर्षमा बिमा गर्नेको संख्या झन्डै २६ प्रतिशतले बढेको छ । उक्त अवधिमा बिमालेखको संख्या २५.८५ प्रतिशतले बढेपछि बिमा गर्नेको संख्या पनि बढेको रूपमा विश्लेषण गरिएको हो । हुन त बिमा लेखको संख्या बढ्दैमा सोही दरमा बिमा गर्नेको संख्या पनि बढ्छ भन्ने हुँदैन । कतिपय अवस्थामा एकै व्यक्ति तथा कम्पनीले पनि धेरै प्रकारका बिमा गरेका हुन्छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ लाख ९१ हजार बिमालेख जारी भएका छन् । त्यसमा जीवन बिमा कम्पनीले ११ लाख ६१ हजार र निर्जीवनले १३ लाख २९ हजार बिमालेख जारी गरेको बिमा समितिको तथ्यांक छ । आर्थिक वर्ष ०७२/७३ को तेस्रो त्रैमाससम्ममा यस्तो बिमालेख संख्या १९ लाख ७९ हजार थियो । 

चालु आर्थिक वर्षमा बिमा क्षेत्रको विकास तथा विस्तार राम्रो भए पनि त्यो पर्याप्त नभएको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यवसायीक विस्तारसँगै बिमा सम्बन्धी चेतनाको स्तर पनि बढेको छ,’ उनले भने, ‘अघिल्लो वर्ष विभिन्न कारणले एजेन्टहरू राम्रोसँग काम गर्न पाएका थिएन, यो वर्ष सहज अवस्था रहेकाले सुचारु रूपमा व्यवसाय अघि बढेको छ ।’ 

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म निकै राम्रो रहेको निर्जीवन बिमा कम्पनीको व्यवसाय त्यसपछि धेरैले घट्न थालेको युनाइटेड इन्स्योरेन्स (नेपाल) का प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए । ‘निर्जीवन बिमा व्यवसायमा सवारी साधनको हिस्सा सबैभन्दा धेरै हुन्छ,’ उनले भने, ‘राष्ट्र बैंकले हायरपर्चेज कर्जामा सीमा तोकेपछि कार तथा चिपको कारोबार घटेको छ, त्यसको प्रत्यक्ष असर बिमा व्यवसायमा पनि परेको छ ।’ हाल नेपालमा १७ वटा निर्जीवन र ९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । थप १० वटा जीवन बिमा कम्पनीले स्थापनाका लागि समितिबाट अनुमति पाएका छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]