सरकारले कुल १८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ ३० ओटा प्रवर्द्धकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ । सरकारले मिश्रित ऊर्जा प्रणाली जडान गर्ने कार्यलाई अगाडि बढाउने लक्ष्यका साथ पछिल्लोपटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ । जलविद्युत् आयोजनालाई सहयोग र्पुयाउने लक्ष्यका साथ सौर्य ऊर्जा प्रणालीको विकास र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउन लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले केही दिनभित्रैमा कुल ६१ मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने तयारी गरेका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गर्ने तयारी गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले सबैभन्दा ठूलो ५० मेगावाट क्षमताको मानुङ्गाडाँडा सोलार प्लाण्टलाई तनहुँमा सर्वेक्षणको अनुमति दिएको छ । सौर्य प्रणाली जडानमा निजी क्षेत्रसँगै नेपाल विद्युत् प्राधिकरणले पनि सर्वेक्षणको अनुमति पाएको छ ।
नुवाकोटको चारघरेमा क्रमशः आठ÷आठ मेगावाट क्षमताका दुईओटा प्रणाली र विदुरमा ३.५ मेगावाट क्षमताको प्रणाली जडान गर्ने कार्यका लागि सर्वेक्षणको अनुमति दिइएको छ । यस्तै निजी क्षेत्रको जलविद्युत् उत्पादक संस्था अपि पावरले मुलुकका विभिन्न छ स्थानमा कुल २० मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति पाएको छ । अपि पावरका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेकाअनुसार बर्दघाट, ढल्केबर, सिमरा, दुहवीमा सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति पाएको र ठेकेदार छनोटका लागि सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । विराटनगर र टङ्कीसिनवारीमा १०र१० मेगावाट क्षमतामा दुईओटा आयोजनाका लागि अनुमति दिइएको छ ।
लहानमा ग्रिड कनेक्टेड चार मेगावाट, हेटौंडामा चार मेगावाट, दुहवीमा आठ मेगावाट, लहमीमा तीन मेगावाट क्षमताको आयोजना अगाडि बढाउने लक्ष्यका साथ सर्वेक्षणको अनुमति दिइएको विभागका सूचना अधिकृत एवम् सिडिई बाबुराज अधिकारीले जानकारी दिए । विभागले हालसम्म ३० ओटा आयोजनाका लागि कुल १८० मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति दिइएको र केही आयोजनासँग विद्युत् खरीद सम्झौताको समेत तयारी छ । सरकारले जलविद्युत् आयोजनामा मात्रै ध्यान दिइएको भन्दै पछिल्लोपटक सौर्य ऊर्जा प्रणालीको विकासमा समेत विशेष जोड दिएको छ । सौर्य प्रणालीको विकासमा सरकारीभन्दा निजी क्षेत्रको बढ्ता जोड र चासो रहेको छ । निजी लगानीबाट आर्थिक वर्ष २०७४/७५ मा सौर्य प्रविधिबाट मात्रै ६१ मेगावाट सौर्य ऊर्जा उत्पादकसँग विद्युत् खरीद सम्झौताको तयारी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
प्राधिकरणले २१ ओटा सौर्य ऊर्जा उत्पादकसँग केही दिनभित्रै उक्त सम्झौता गर्न लागेको हो । सरकारले ऊर्जा सङ्कट कार्ययोजनाअन्तरगत विद्युतभार कटौती अन्त्यका लागि सौर्य प्रविधिबाट बिजुली उत्पादनको तयारी गरेको छ । सौर्य ऊर्जा खरीदको आधार दर तय भएकाले सोही आधारमा उनीहरूसँग सम्झौता गर्न लागिएको हो । प्राधिकरणले प्रतियूनिट रू. ९.६० खरीद दर निर्धारण गरेको भए पनि प्रतिस्पर्धा गर्दा निजी उत्पादकले रू. ८.४५ सम्म सौर्य बिजुली बेच्ने प्रस्ताव गरेका छन् । सरकारले ‘उज्यालो नेपाल अभियान’अन्तरगत आगामी सात वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको सन्दर्भमा सौर्य प्रणालीलाई विशेष जोड दिइएको हो । रासस



