Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कतारका नेपाली फर्कन थाले, रेमिट्यान्समा ठुलो धक्का पर्ने  

२०७४ असार २ गते

सुष्मा थापा । खाडी मुलुकहरूबीच बढेको तिक्तताले नेपालको रेमिट्यान्स क्षेत्रमा प्रत्यक्ष असर पुर्याउने भएको छ । अघिल्लो साता कतारले आतंककारीलाई सहयोग गरेको भन्दै बहराइन, यूएई, लिबिया, यमन र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए । छिमेकी मुलुकले सम्बन्ध समाप्तिको घोषणाले कतारमा नाकाबन्दीको अवस्था सिर्जना भएको छ । सो अवस्थाका कारण त्यहाँ रोजगारीको शिलशिलामा गएका नेपालीहरु धमाधम नेपाल फर्कने सम्भावना बढेसँगै कतारबाट नेपाल आउने गरेको रेमिट्यान्समा उल्लेख्य रुपमा गिरावट आउने भएको हो । 

रेमिट्यान्स आप्रवाहमा कमी
नेपाल भित्रिने रेमिट्यान्सका आधारमा कतार दोस्रो मुलुक हो । नेपालमा वर्षेनि भित्रिने गरेको कुल रेमिट्यान्स रकमको २० प्रतिशत कतारबाट आउँछ । गत वर्षको तथ्यांकअनुसार रोजगारीका लागि विदेश गएका नेपालीहरूबाट कुल ६ अर्ब अमेरिकी डलर रेमिट्यान्स आएको थियो । त्यसमा एक अर्ब ३० लाख डलर कतारबाट मात्र आएको थियो । कतारमा हाल चार लाख १४ हजारभन्दा बढी नेपाली कामदार रहेका छन् । कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएकाले पनि कतार जाने नेपाली कामदारको संख्या बढेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा समस्या आएपछि पनि कतार जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको थियो । ती नेपालीहरु नेपाल फर्कन थाल्नेवित्तीकै नेपालको रेमिट्यान्सको क्षेत्रमा ठूलो धक्का लाग्ने देखिएको छ । 

बैंकिङ क्षेत्रमा धक्का
बैंक वित्तीय संस्थाका लागि निक्षेपको प्रमुख स्रोत रेमिट्यान्स हो । त्यसमा पनि कतारबाट आउने रेमिट्यान्स अन्य देशको तुलनामा धेरैजसो औपचारिक च्यानलबाट भित्रिने गरेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा कर्जा लगानीयोग्य रकम अभाव बढेको अवस्थामा रेमिट्यान्समा पनि कमी आउन थालेमा बैंकहरुमा निक्षेपको समस्या झन् विकराल बन्दै जानेछ । अहिले वाणिज्य बैंकहरू कर्जा प्रवाहलाई नै नियन्त्रण गरेर निक्षेपको दौडमा छन् । बैंकहरूको निक्षेप तान्ने प्रतिस्पर्धाले व्याजदर १५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । बैंकहरूलाई कर्जा प्रवाह गर्न सहज होस् भनेर राष्ट्र बैंकले पनि पुँजी, कर्जा र निक्षेपको अनुपात गणना गर्ने विधिमा केही सहजीकरण गरिदिएको छ । 

समग्र नेपाली अर्थतन्त्रलाई खतरा
नेपालको अर्थतन्त्रको मूख्य खम्बा मानिएको रेमिट्यान्स नै प्रभावित हुने भएपछि मुलुकको अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने संकेत देखिएको छ । तत्कालका लागि कतारमा ३।४ महिना मात्रै समस्या रहने अनुमान गरिएको छ । तर, अनुमानविपरीत लामो समयसम्म नाकाबन्दीको समस्या समाधान नभए नेपालको समग्र अर्थतन्त्र नै प्रभावित बन्नेछ । 

Ad