June 16th, 2017

आधा बजेट खर्च गर्नै बाँकी

चालू आर्थिक वर्ष सकिन एक महिना पनि बाँकी छैन । तर, सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको छ । खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ५७.६४ प्रतिशतमात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालय (मलेनिका)ले जनाएको छ । जेठ मसमन्तसम्ममा ६ खर्ब ४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो । ११ महिनामा पुँजीगत खर्च सबैभन्दा कम भएको छ । यस अवधिमा पुँजीगत खर्च विनियोजित बजेटको ३८.५४ प्रतिशतमात्रै भएको छ ।

चालू वर्ष पुँजीगत खर्चका लागि ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १ खर्ब २० अर्ब २१ करोड ९८ लाख रुपैयाँमात्रै खर्च भएको छ । पुँजीगत बजेटमध्ये १ खर्ब ४० अर्ब रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणका लागि छुट्टयाइएको थियो । बजेटको मध्यावधि समीक्षाले पुँजीगत बजेट संशोधन गर्दै चालू वर्ष २ खर्ब ६२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ । संशोधित अनुमान पुँजीगत बजेटको ८४ प्रतिशत हो । संशोधित अनुमानअनुसार असारमा मात्रै १ खर्ब ४१ अर्ब ८१ करोड ५१ लाख पुँजीगत बजेट खर्च गर्नुपर्ने हुन्छ, जसका लागि दैनिक ४ अर्ब ५७ करोड ४६ लाख खर्च गर्नुपर्ने अवस्था छ । 

सरकारले चालू वर्षमा ८० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने भनेको छ र त्यसैअनुरुप सम्बन्धित निकायहरूलाई पटक पटक निर्देशन दिँदै आएको छ । पुँजीगत खर्चमा जोड दिएको सरकारले जेठमा भने प्रतिदिन १ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ खर्च गरी ४३ अर्ब ३१ करोड ५१ लाख पु¥याएको छ । वैशाखसम्म ९८ अर्ब ५० करोड रुपैयाँमात्र पुँजीगत खर्च भएको थियो । मलेनिकाले वित्तीय व्यवस्थातर्फ भने ४९.६६ प्रतिशत खर्च भएको उल्लेख गरेको छ । चालू वर्ष वित्तीय व्यवस्थाका लागि १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ विनियोजन गरेकोमा ११ महिनामा ५९ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी पुँजीगत खर्च भने ६८.८५ प्रतिशत भएको छ । चालू वर्ष चालू खर्चका लागि ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख विनियोजन भएकोमा यस अवधिमा ४ खर्ब २४ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहको निर्वाचनका कारण सरकारले बढी खर्च गनुपर्ने परिस्थितिले पनि चालू खर्च बढेको हो । यस अवधिमा तीन वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने तीनवटा प्रदेशमा असार १४ गते निर्वाचन हुँदैछ । प्रदेश नम्बर दुईको निर्वाचन भने असोज दुई गतेका लागि सारिएको छ ।

उता, ११ महिनामा राजस्व भने लक्ष्यको ९३.३३ प्रतिशत असुली भएको छ । चालू वर्ष ६ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख राजस्व असुलीको लक्ष्य लिइएकोमा यस अवधिमा ५ खर्ब २८ अर्ब १५ करोड ४७ लाख रुपैयाँ असुली भएको छ । प्राप्त राजस्वमध्ये राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मार्फत ५ खर्ब २६ अर्ब ५४ करोड ८६ लाख र एकल खाता कोष (टीएसए)मार्फत १ अर्ब ६० करोड ६१ लाख रुपैयाँ राजस्व उठेको हो ।

११ महिनामा असुली भएको राजस्व यसैअवधिको लक्ष्य ४ खर्ब ९३ अर्ब ५३ करोड ८१ लाखको तुलनामा ३४ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ अर्थात् ७.०१ प्रतिशतले बढी हो । चालू वर्षको सुरुका महिनामा राजस्व वृद्धि लक्ष्यभन्दा ७ प्रतिशत हाराहारी बढी देखिएपनि गत माघबाट भने केही खुम्चिएको थियो । तर, जेठमा आइपुग्दा फेरि राजस्व असुलीले तिव्रता पाएको छ । जेठमा ४५ अर्ब ६३ करोड ६४ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा ६४ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ अर्थात् लक्ष्यको ४१.६२ प्रतिशत बढी राजस्व असुली भएको छ । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]